प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गरेको छ।
त्रिवि मैदान कीर्तिपुरमा पुलिसले दिएको ११२ रनको सामान्य लक्ष्य बागमतीले ३४.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्दै सहज जित निकालेको हो।
बागमतीको जितमा पृथु बास्कोटाले नटआउट ४८ रन र इशान पाण्डेले नटआउट १७ रनको योगदान दिए। बास्कोटाले ६६ बलमा ५ चौका र ३ छक्का हिर्काए भने पाण्डेले पनि ६६ बल खेलेर २ चौका प्रहार गर्न सके।
त्यसअघि ओपनर आकाश थापा १ रनमा रनआउट हुँदा अदिल खान १२ रनमा दीपेन्द्रसिंह ऐरीबाट बोल्ड भए। पारस खड्का १७ रन बनाएर आउट भए।
बलिङमा पुलिसका ऐरी र ललितनारायण राजवंशीले १-१ विकेट लिए।
समूह 'बी' को खेलमा टस हारेर पहिले ब्याटिङ गरको पुलिस २९.३ ओभरमा १११ रनमै अलआउट भएको थियो।
पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले २१-२१ रन जोडे। त्यसअघि ओपनरद्वय सुनील धमला र कुशल भुर्तेल १७-१७ रनमा आउट भए।
अमित श्रेष्ठ ६ रन, अनिल साह र पवन सर्राफ १-१ रनमा पेभेलियन फर्के। कप्तान मञ्जित श्रेष्ठ ५ रनमा आउट हुँदा रासिद खान, सागर ढकाल र ललितनाराणय राजवंशीले १-१ रन मात्र जोड्न सके।
बलिङमा बागमतीका नन्दन यादव र तिलक भण्डारीले ४-४ विकेट लिए। यादवले ९ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चिए। भण्डारीले ७.३ ओभरमा १ मेडन राखेर १७ रन दिए।
यस्तै बागमतीका रामनरेश गिरी २ विकेट लिन सफल भए।
यता मुलपानी मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ८० रनले पराजित गरेको छ। यो आर्मीको दोस्रो जित हो। यसअघि आर्मीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ९८ रनले पराजित गरेको थियो।
आर्मीले दिएको १९६ रनको लक्ष्य पछ्याएको कर्णाली ३३.३ ओभरमा ११५ रनमा अलआउट भयो। कर्णालीका लागि कप्तान रवीन्द्र शाहीले सबैभन्दा बढी ३० रन जोडे।
बलिङमा आर्मीका सुसन भारीले ४ विकेट लिए। उनले ८.३ ओभरमा ३ मेडन राख्दा केवल १९ रन दिएका थिए। सहाब अलामले ३ विकेट लिए भने रोहित पौडेलले २ विकेट लिन सफल भए। हरी चौहानको नाममा १ विकेट रह्यो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मी ४३.१ ओभरमा १९५ रनमा अलआउट भयो। आर्मीका लागि ओपनिङ ब्याट्सम्यान अनिल मण्डलले ८९ रन जोडे। उनले ११४ बलमा १४ चौका हिर्काए। कप्तान विनोद भण्डारी ४१ रन बनाएर आउट भएका थिए।
बलिङमा कर्णालीका दिपेश अधिकारी, राज शाह र दिवान पुनले २-२ विकेट लिए।