अस्ट्रेलियाविरुद्धको चौथो तथा निर्णायक टेस्टमा भारतले खेल जित्न ३२८ रनको लक्ष्य पाएको छ।
ब्रिसबेनमा भइरहेको टेस्टमा घरेलु टिम अस्ट्रेलिया दोस्रो इनिङ्ग्समा २९४ रनमा अलआउट भएपछि भारतले ३२८ रनको लक्ष्य पाएको हो।
भारतले सोमबार चौथो दिन दोस्रो इनिङ्ग्स ब्याटिङ सुरु गरेको छ। भारतका शुभमान गिल र रोहित शर्माले ओपनिङ गरेका छन्।
दोस्रो इनिङमा अस्ट्रेलियाका लागि स्टेभिन स्मिथले ५५ रन र डेभिड वार्नरले ४८ रनको योगदान दिए। बलिङमा भारतका मोहमद सिराजले ५ विकेट लिए। शार्दुल ठाकुरले ४ विकेट लिन सफल भए।
त्यसअघि पहिलो इनिङ्ग्समा अस्ट्रेलियाले ३६९ रन जोड्दा भारत ३३६ रनमा अलआउट भएको थियो।
अस्ट्रेलियाका लागि पहिलो इनिङमा मार्नस लबुसेनले १०८ रनको योगदान दिँदा बलिङमा भारतका टी नटराजन, शार्दुल ठाकुर र वासिङटन सुन्दरले ३-३ विकेट लिएका थिए।
भारतका लागि पहिलो इनिङ्ग्समा शार्दुल ठाकुरले ६७ र वासिङटन सुन्दरले ६२ रन जोडे। बलिङमा अस्ट्रेलियाका जोश हजलउडले ५ विकेट हात पारे।
चार टेस्टको सिरिज १-१ को बराबरीको अवस्थामा छ। पहिलो टेस्टमा अस्ट्रेलिया विजयी हुँदा दोस्रो टेस्टमा भारतले जित निकालेको थियो। तेस्रो टेस्ट बराबरीमा सकिएको थियो।