चौथो तथा निर्णायक टेस्टमा भारतले अस्ट्रेलियालाई मंगलबार ३ विकेट पराजित गरेको छ। जितसँगै भारतले ४ खेलको सिरिज २-१ ले कब्जा गरेको छ।
पहिलो टेस्टमा अस्ट्रेलिया विजयी हुँदा दोस्रो टेस्टमा भारतले जित निकालेको थियो। तेस्रो टेस्ट बराबरीमा सकिएको थियो।
ब्रिसबेनमा भएको चौथो टेस्टमा अस्ट्रेलियाले दिएको ३२८ रनको लक्ष्य भारतले ७ विकेटको क्षतिमा पूरा गर्यो।
ब्रिसबेनमा अस्ट्रेलियाले ३३ वर्षमा पहिलो पटक पराजय भोगेको हो।
भारतको जितमा रिशव पन्तले उत्कृष्ट ब्याटिङ गरे। उनले दोस्रो इनिङ्ग्समा नटआउट ८९ रन जोडे। त्यसका लागि पन्तले १३८ बलमा ९ चौका र १ छक्का हिर्काए।
त्यसअघि शुभमान गिलले ९१ रनको योगदान गरेसँगै भारत बलियो अवस्थामा पुगेको थियो। उनले १४६ बलमा ८ चौका र २ छक्का हिर्काए।
चेतेश्वर पुजाराले ५६ रनको योगदान दिए। उनले २११ बलमा ७ चौका हिर्काए। वासिङटन सुन्दरले अन्त्यतिर २९ बलमा २२ रन जोडे।
बलिङमा अस्ट्रेलियाका पाट कमिङ्ग्सले चार ४ विकेट लिए।
अस्ट्रेलिया दोस्रो इनिङ्ग्समा २९४ रनमा अलआउट भएपछि भारतले ३२८ रनको लक्ष्य पाएको थियो।
दोस्रो इनिङमा अस्ट्रेलियाका लागि स्टेभिन स्मिथले ५५ रन र डेभिड वार्नरले ४८ रनको योगदान दिए। बलिङमा भारतका मोहमद सिराजले ५ विकेट लिए। शार्दुल ठाकुरले ४ विकेट लिन सफल भए।
त्यसअघि पहिलो इनिङ्ग्समा अस्ट्रेलियाले ३६९ रन जोड्दा भारत ३३६ रनमा अलआउट भएको थियो।
अस्ट्रेलियाका लागि पहिलो इनिङमा मार्नस लबुसेनले १०८ रनको योगदान दिँदा बलिङमा भारतका टी नटराजन, शार्दुल ठाकुर र वासिङटन सुन्दरले ३-३ विकेट लिएका थिए।
भारतका लागि पहिलो इनिङ्ग्समा शार्दुल ठाकुरले ६७ र वासिङटन सुन्दरले ६२ रन जोडे। बलिङमा अस्ट्रेलियाका जोश हजलउडले ५ विकेट हात पारे।