प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशले जित हात पारेका छन्।
मंगलबार भएको समूह 'ए' को खेलमा कर्णालीले गण्डकी प्रदेशलाई ५ विकेटले हरायो।
पहिले ब्याटिङ गरेको गण्डकी ४२.३ ओभरमा २०४ रनमा अलआउट भयो। गण्डकीका लागि अर्जुन कुमालले ४६ रन, राहुल उपाध्यायले ५३ रन र अभिषेक थापाले ३२ रन जोडे।
बलिङमा कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिए भने अर्जुन चुनरा र दिवान पुनले २-२ विकेट हात पारे।
२०५ रनको लक्ष्य कर्णालीले ३६.५ ओभरमा ५ विकेटको क्षतिमा पार गर्यो। कर्णालीका लागि हिमांशु शाहीले नटआउट ६८ रन जोडे भने विपिन रावलले ४९ रनको योगदान दिए।
बलिङमा गण्डकीका विपिन खत्रीले ४ विकेट लिए।
जारी प्रतियोगितामा कर्णालीको यो पहिलो जित हो।
यता समूह 'बी' को खेलमा लुम्बिनीले प्रदेश २ लाई ७७ रनले हरायो।
लुम्बिनीले दिएको २५८ रनको लक्ष्य पछ्याएको प्रदेश २ कमजोर ब्याटिङ गर्ने क्रममा ४२.४ ओभर १८० रनमा अलआउट भयो। प्रदेश २ का लागि विवेक यादवले ५१ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।
बलिङमा लुम्बिनीका अनिल खरेलले ४ विकेट लिए। विक्रम भुषाल र दिपेन्द्र रावतको नाममा २-२ विकेट रह्यो।
त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ९ विकेटको क्षतिमा २५७ रन जोड्यो।
लुम्बिनीका लागि सन्दीप रजालीले ८३ रन जोडे। उनले १०७ बलमा ११ चौका हिर्काए।
सौरभ खनालले ५६ रन जोडे भने विक्रम भुषालले ३६ रनको योगदान दिए।
बलिङमा प्रदेश २ का हरिशंकर साहले ३ विकेट लिए।