प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगतार तेस्रो खेलमा जित हात पारेको छ।
समूह 'ए' को शीर्ष स्थानमा रहेको आर्मीले लगातार तेस्रो जित हात पार्ने क्रममा बुधबार मुलपानी मैदानमा भएको खेलमा प्रदेश १ लाई ४ विकेटले पराजित गर्यो।
प्रदेश १ ले दिएको १३२ लक्ष्य आर्मीले २९.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो।
आर्मी जितमा राजेश पुलामी मगरले नटआउट २४ रन जोडे। भीम सार्कीले रनआउट हुनुअघि २९ रनको योगदान दिए।
आर्मीका ओपनर अनिल मण्डल शून्यमा रनआउट हुँदा लोकेश बमले १३ रन जोडे। हरि चौहान ८ रन र कप्तान विनोद भण्डारी ५ रनमा आउट भए। रोहित पौडेलले ३६ रन बटुले। उनले ३१ बलमा ४ चौका र २ छक्का हिर्काए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ४०.१ ओभरमा अलआउट हुने क्रममा १३१ रन जोड्यो। उसका लागि विवेक मेहेताले ५० रन जोडे। फिर्दोष अन्सारीले ३२ रन जोड्दा दीपक पासवानले १९ रन बटुले।
बलिङमा आर्मीका सहाब अलामले ४ विकेट लिए। आकास चन्दको नाममा ३ विकेट रह्यो।