नेपाली क्रिकेट टिमका प्रशिक्षक डेभ वाटमोरले नेपालको एकदिवसीय मान्यता जोगाउन काम गर्ने बताएका छन्।
बुधबार पहिलो पटक नेपाली क्रिकेटको औपचारिक कार्यक्रममा सहभागी हुँदै वाटमोरले नेपालको एकदिवसीय मान्यता कायम राख्न काम गर्ने बताएका हुन्।
गत महिना प्रशिक्षक नियुक्त भएका वाटमोर नेपाली टिम सम्हाल्न केही दिनअघि नेपाल आएका थिए।
'नेपालको प्रशिक्षक बनेर आउँदा धेरै खुसी छु,' वाटमोरले भने,'नयाँ चुनौती सामना गर्न तयार छु।'
उनले नेपालको एकदिवसीय मान्यता जोगाउन काम गर्ने बताए।
'नेपाललाई अहिले एकदिवसीय मान्यता छ। त्यसलाई रिटेन गर्ने आसा छ। हामी वरीयतामा पनि सुधार गर्नका लागि तयार छौं,' उनले भने।
नेपाललाई सन् २०२३ को मार्चसम्म एकदिवसीय मान्यता छ।
नेपालले सन् २०१८ मार्चमा चार वर्षका लागि एकदिवसीय मान्यता प्राप्त गरेको थियो। विश्वकप छनोटअन्तर्गत प्लेअफमा पपुवा न्युगिनीलाई पराजित गरेपछि नेपालले सन् २०२२ मार्चसम्मका लागि एकदिवसीय मान्यता पाएको थियो।
तर कोरोना भाइरसका कारण एक वर्ष क्रिकेट प्रभावित भएपछि मान्यता एक वर्ष थप भएको थियो।
नेपाललाई विश्वकपमा पुर्याउन सजिलो नभएको उनको भनाइ छ। तर विश्वकपमा पुग्न निरन्तर प्रयास गर्ने उनले बताए।
'विश्वकपमा पुग्न धेरै गाह्रो हुन्छ। किनभने विश्वभरका देशहरू विश्वकपमा पुग्न चाहान्छन्,' उनले भने,'विश्वकपको स्तरमा पुग्नका लागि हामीले धेरै सुधार गर्नु पर्छ। त्यो स्तरमा पुग्नका हामी खेल्नेछौं। एक-एक खेलमा केन्द्रीत भएर खेल्नेछौ। एकअर्का मिलेर अघि बढ्नेछौ।'
क्यानले अस्ट्रेलियन नागरिक वाटमोरलाई जनावरी १ देखि लागू हुने गरी प्रशिक्षकमा नियुक्त गरेको थियो।
श्रीलंकामा जन्मिएर अस्ट्रेलियामा हुर्किएका वाटमोर अस्ट्रेलियाका पूर्व क्रिकेटर हुन्।
६६ वर्षीय वाटमोरसँग आइसिसीको स्थायी सदस्यका टिमलाई प्रशिक्षण गराएको अनुभव छ।
उनको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ को एकदिवसीय विश्वकप जितेको थियो।
उनी सन् २००३ देखि २००७ सम्म बंगलादेशको प्रशिक्षक थिए। त्यसपछि उनी भारतको यु१९ टिमको प्रशिक्षक रहे।
वाटमोरले सन् २०१० र २०११ को सिजनमा आइपिएल टिम कोलकता नाइट राइडर्सको प्रशिक्षण सम्हालेका थिए।
त्यसपछि वाटमोर २०१२ देखि २०१४ सम्म पाकिस्तानको प्रशिक्षक बने।
सन् २०१४ मा जिम्बावेको प्रशिक्षक बनेका उनलाई २०१६ को टी-२० विश्वकपमा जिम्बावेले खराब प्रदर्शन गरेपछि बर्खास्त गरिएको थियो।
त्यसपछि उनी भारत फर्किए। भारतमा उनले केरलाको टिमलाई प्रशिक्षण दिए।
पछिल्लो पटक उनी सन् २०२० मा सिंगापुरका प्रशिक्षक बने।