प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार तेस्रो जित हात पारेको छ। शुक्रबार मुलपानी मैदानमा भएको समूह 'बी' को खेलमा बागमतीले प्रदेश २ लाई ६ विकेटले पराजित गर्यो।
समूह 'बी' को शीर्ष स्थानमा रहेको बागमतीले तीन खेलबाट ६ अंक जोडेको छ। प्रदेश २ भने लगातार दुई खेलमा पराजित भयो।
प्रदेश २ ले दिएको १८० रनको लक्ष्य बागमतीले ४ विकेटको क्षतिमा ४८.२ ओभरमा पार गर्यो। बागमतीका लागि पृथु बाँस्कोटाले नटआउट ५३ रन जोडे। उनले ७५ बलमा ७ चौका र १ चौका हिर्काए।
बिभत्सु थापाले ४७ रनको योगदान दिए। उनले ९३ बलमा ३ चौका हिर्काए। ओपनर आकाश थापाले ३२ रन जोडे।
बलिङमा प्रदेश २ का हरिशंकर साहले २ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश २ ले कमजोर ब्याटिङ गर्ने क्रममा ४८.२ ओभरमा १७९ रनमा अलआउट भयो। प्रदेश २ का लागि विवेक यादवले सबैभन्दा बढी ६६ रन जोडे। रनआउट हुनुअघि उनले ७४ बलमा ३ चौका र ३ छक्का हिर्काए।
बलिङमा बागमतीका गौतम केसीले ४ विकेट लिए भने रामनरेश गिरीले २ विकेट हात पारे।
यता समूह 'ए' को खेलमा प्रदेश १ ले सान्त्वना जित हात पारेको छ। प्रदेश १ ले शुक्रबार कीर्तिपुर मैदानमा भएको खेलमा कर्णाली प्रदेशलाई ५९ रनले पराजित गर्यो।
योसँगै प्रदेश १ ले आफ्नो सबै चार खेल खेलको छ। लगातार तीन खेलमा हार बेहोरेको प्रदेश १ ले अन्तिम खेलमा जित निकाल्न सफल भयो। यद्यपी प्रदेश १ समूह चरणबाटै बाहिरियो।
कर्णाली प्रदेशले ३ मध्ये १ खेलमा जित निकालेको छ।
कीर्तिपुर मैदानमा शुक्रबार प्रदेश १ ले दिएको २१६ रनको लक्ष्य पछ्याएको कर्णाली ३५ ओभरमा १५६ रनमा अलआउट भयो।
कर्णालीका लागि विपिन रावलले सबैभन्दा बढी ४७ रन जोडे।
बलिङमा प्रदेश १ का मिनास थापाले ५ विकेट लिए। उनले १० ओभरमा २ मेडन राख्दा २६ रन दिए।
दिपेन्द्र कँडेलले ३ विकेट र मनोज तामाङले २ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ५० ओभरमा ९ विकेटको क्षतिमा २१५ रन जोड्यो।
प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले ६६ रन जोडे। उनले ९७ बलमा ९ चौका हिर्काए।
बलिङमा कर्णालीका रवीन्द्र शाहीले ३ विकेट लिए भने दिनेश अधिकारी र अनुज चुनराले २-२ विकेट लिए।