प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती र लुम्बिनी प्रदेशले समान रन बनाएका छन्। समान स्कोरपछि दुवै टिमले १-१ बाडेका छन्। बराबरीपछि बागमती सेमिफाइनलमा पुगेको छ।
आइतबार मुलपानी मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेटको क्षतिमा २२० रन जोड्यो।
२२१ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको लुम्बिनी ४८ ओभरमा अलआउट हुँदा २२० रननै जोडेको थियो।
लुम्बिनीलाई ४७ ओभरको खेल सकिदासम्म ३ रन चाहिएको थियो भने उसको २ विकेट बचेको थियो।
लुम्बिनीले ४८ ओभरको पहिलो दुई बलमा एक रन लियो। तेस्रो बलमा लुम्बिनीका जितेन्द्र शाही आउट भए। त्यसपछि मैदान आएका दीपेन्द्र राउतले पाँचौ बलमा लेग बाइबाट एक लिएपछि स्कोर बराबरी भएको थियो।
छैटौं बलमा लुम्बिनीका अनिल खरेल रनआउट हुँदा स्कोर बराबरीमा खेल सकियो।
त्यसअघि लुम्बिनीका लागि कप्तान कृष्ण कार्की र प्रकाश केसीले समान ४१-४१ रन जोडे भने सौरभ खनालले ३४ रनको योगदान दिए।
बलिङमा बागमतीका विपिन आचार्यले ४ विकेट लिए।
पहिले ब्याटिङ गरेको बागमतीका लागि अदिल खानले ५५ रन र इशान पाण्डेले ५१ रनको योगदान दिए।
बलिङमा लुम्बिनीका दिपेन्द्र रावतले ३ विकेट लिए।
बराबरीपछि लुम्बिनी चार खेलबाट ७ अंक जोड्दै सेमिफाइनलमा पुगेको छ। ५ अंक जोडेको लुम्बिनीको सेमिफाइनल पुग्ने आसा बाँकी नै छ।
समूहको अन्तिम खेलमा नेपाल पुलिस क्लब र प्रदेश २ बीच खेल हुँदैछ।
पुलिसले जित हात पारे सेमिफाइनल पुग्नेछ। पुलिस हारे लुम्बिनी अन्तिम चारमा पुग्नेछ।
सुदूपश्चिमको सान्त्वना जित
त्यसअघि समूह 'बी' को खेलमा सुदूपश्चिमले सान्त्वना जित हात पारेको छ। सुदूरपश्चिमले प्रदेश २ लाई ३ विकेटलेष हराएको हो। सुदूरपश्चिम यसअघि नै बाहिरिएको थियो। सुदूरपश्चिमले समूहका चारै खेल खेल्दा तीन खेलमा हार र एक खेलमा जित निकाल्यो। प्रदेश २ पनि लगातार तीन खेलमा पराजित हुँदै बाहिरिएको छ।
कीर्तिपुर मैदानमा आइतबार भएको खेलमा पहिले ब्याटिङ गरेको प्रदेश दुई ४२ ओभरमा १९५ रनमा अलआउट भयो। उसका लागि हरिशंकर साहले ६० रन जोडे। बलिङमा सुदूरपश्चिमका शेर मल्ल र नरेन्द्र साउदले ३-३ विकेट लिए।
१९६ रनको लक्ष्य सुदूरपश्चिममले ३३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो। सुदूरपश्चिमका लागि सन्जु धामीले ५७ रन जोडे भने ओपनरद्वय गजेन्द्र बोहराले ३९ रन र खडक बोहराले ४३ रन जोडे।
बलिङमा प्रदेश २ का कुमार थापाले २ विकेट लिए।