भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) दुई दिनअघि ट्विटरमा एउटा भिडियो पोस्ट गर्यो।
अस्ट्रेलियामा खेलिएको चार टेस्ट मध्ये दोस्रो टेस्टदेखि कप्तानको जिम्मेवारी पाएका अजिन्का रहाणेसँग गरिएको टिम मिटिङको भिडियो बिसिसिआईले पोस्ट गरेको हो। यो भिडियो अहिले भारतीय क्रिकेटप्रेमीमाझ भाइरल भइरहेको छ।
भिडियो ब्रिस्बेनमा भएको चौथो टेस्टमा भारतले तीन विकेटको जित निकालेपछिको हो। भिडियोमा कप्तान रहाणे बोलिरहेका छन्। जसको अहिले सोसल मिडियामा खुब चर्चा भइरहेको छ।
रहाणेले टिमका एक सदस्यलाई भनिरहेका छन्,'यो हाम्रो लागि एकदमै ठूलो कुरा हो। एडिलेडमा जे भयो, त्यसपछि मेलवर्नमा जुन तरिकाले हामीले पुनरागमन गर्यौं, त्यो सानदार थियो। यो टिमका कुनै एक दुई खेलाडीको योगदानले भएको होइन, टिमका प्रत्येक सदस्यको योगदान थियो। यो एकदमै राम्रो हो। हामीले जितका साथ सिरिज सकायौं।'
अस्ट्रेलियाविरुद्ध खेलेको चार खेलको टेस्ट सरिजको पहिलो खेल एडिलेडमा खेलिएको थियो। जहाँ भारतले लज्जास्पद हार बेहोरेको थियो।
भारतीय टिम दोस्रो इनिङ्ग्समा केवल ३६ रनमा अलआउट भएको थियो। यो भारतको एकै इनिङ्ग्समा सबैभन्दा कम रन हो।
मेलवर्नमा खेलिएको दोस्रो टेस्टमा भारतले जित निकालेको थियो। तेस्रो टेस्ट बराबरीमा सकिँदा ब्रिस्बेनमा खेलिएको चौथो टेस्टमा भारतले जित निकालेर सिरिज २-१ ले कब्जा गरेको थियो। चौथो खेलमा मोहमद सिराजले उत्कृष्ट बलिङ गर्दा रिशव पन्तले उत्कृष्ट ब्याटिङ गरेका थिए।
खराब सुरुवात गरेर पनि भारतले अन्तिम खेलमा जित निकालेर सिरिजमा जित हात पारेको थियो।
जितपछि भारतको कप्तानी सम्हालेका रहाणेको उच्च तारिफ भएको थियो।
सिरिज जितपछि भारतीय क्रिकेट टिमका नियमित कप्तान विराट कोहलीमाथि दबाब परेको छ।
पहिलो टेस्टमा लज्जास्पद हार बेहोरेपछि नियमित कप्तान विराट कोहली भारत फर्किएका थिए। सन्तान जन्मिएपछि कोहली टिमबाट बिदा लिएर भारत फर्किएका थिए।
त्यसपछि रहाणेले भारतको कप्तानको जिम्मेवारी सम्हाले र भारतलाई सिरिज जित दिलाए।
अहिलेसम्म रहाणेको कप्तानको रुपमा उत्कृष्ट प्रदर्शन रहेको छ। उनले पाँच खेलमा भारतीय टिमको कप्तानी गर्दा चारमा जित र एक खेल बराबरीमा सकिएको छ।
रहाणेको प्रदर्शनपछि इंग्ल्यान्डका पूर्वकप्तान माइकल भनले रहाणेलाई कप्तानी दिनुपर्ने तर्क अघि सारेका छन्।
भनले ट्विट गरेका छन्,'बिसिसिआईले रहाणेलाई कप्तानी दिनका लागि विचार गर्नेछ। कोहलीले एक ब्याट्सम्यान मात्र भएर खेल्दा टिम अझ बलियो हुन सक्छ। किनभने रहाणेसँग अद्भुत रणनीति छ।'
आगामी महिना भारतले इंग्ल्यान्डसँग घरेलु मैदानमा खेल्दैछ।
भारत र इंग्ल्यान्डबीच चार टेस्ट हुनेछ। टेस्ट ५ फेब्रुअरीदेखि सुरु हुनेछ। पहिलो दुई खेल चेन्नईमा हुनेछ। पहिलो दुई खेलका लागि भारतको टिम घोषणा भइसकेको छ। जसमा भारतीय टिमको कप्तानी विराट कोहलीले गर्नेछन्। पछिल्ला दुई टेस्ट अहमदाबादमा हुँदैछ।