नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
सोमबार मुलपानी मैदानमा भएको खेलमा प्रदेश २ लाई ४ विकेटले पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो।
समूह 'बी' मा ६ अंक जोड्दै पुलिस उपविजेताको रुपमा अन्तिम चारमा पुगेको हो। यसअघि यो समूहबाट बागमती ७ अंक जोडेर विजेताको रुपमा अन्तिम चारमा पुगेको थियो।
प्रदेश २ भने समूहका चारै वटा खेल हार्दै अंकबिहीन बन्यो। प्रधानमन्त्री कपमा सबै खेल हार्ने प्रदेश २ एक्लो टिम बन्यो।
मुलपानी मैदानमा प्रदेश २ ले दिएको १७० रनको लक्ष्य पुलिसले ३८ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो।
पुलिसका लागि अनिल साहले नटआउट ४७ रन र कप्तान मन्जित श्रेष्ठले नटआउट १२ रन जोडे। अनिलले ६९ बलमा ४ चौका हिर्काउदा मन्जितले ६ बलमा १ चौका र १ छक्का हिर्काए।
त्यसअघि ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले ४३ रन जोडे। उनले ५५ बलमा ३ चौका र १ छक्का हिर्काए।
अमित श्रेष्ठले १७ रन जोडे भने दीपेन्द्रसिंह ऐरीले १७ रनको योगदान दिए।
बलिङमा प्रदेश २ का विवेक यादव र कुमार थापाले ३-३ विकेट लिए।
पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित ४७ ओभरमा ९ विकेटको क्षतिमा १६९ रन जोड्यो।
प्रदेश २ का लागि हरिशंकर साहले ५३ रनको योगदान गरे। हिमांशु दत्तले १६ रन जोड्दा अदिल अन्सरीले १५ रन बटुले।
बलिङमा पुलिसका ललितनारायण राजवंशीले ४ विकेट लिए। उने ८ ओभरमा एक मेडन राख्दा ३७ रन खर्चिए। सागर ढकालको नाममा २ विकेट रह्यो।
अब पुलिसले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब वा नेपाल एपिएफ क्लब मध्ये एक टिमसँग भिड्नेछ।