प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ।
सोमबार कीर्तिपुर मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबमाथि ६ रनको जित निकाल्दै नेपाल एपिएफ क्लब समूह 'ए' को विजेता बन्यो।
त्यसअघि मुलपानी मैदानमा भएको खेलमा प्रदेश २ माथि ४ विकेटको जित निकालेर नेपाल पुलिस क्लबले समूह 'बी' को उपविजेताको रुपमा अन्तिम चारमा स्थान पक्का गर्यो।
अब सेमिफाइनलमा समूह 'ए' को विजेता नेपाल एपिएफ क्लब र समूह 'बी' को उपविजेता नेपाल पुलिस क्लबबीच खेल हुनेछ। अर्को सेमिफाइनलमा समूह 'बी' को विजेता बागमती प्रदेश र समूह 'ए' को उपविजेता आर्मीबीच प्रतिस्पर्धा हुनेछ।
पहिलो सेमिफाइनल बुधबार हुनेछ भने दोस्रो सेमिफाइनल बिहीबार हुनेछ। फाइनल भिडन्त शनिबार हुनेछ।
आर्मीमाथि एपिएफ हाबी
सोमबार टस हारेर पहिले ब्याटिङ गरेको एपिएफ २ बल खेल्न बाँकी छदा २४० रनमा अलआउट भयो।
एपिएफका लागि सुमित महर्जनले ४६ रन जोडे। सन्दीप जोराले २८ रन जोड्दा अमरसिंह रटेउलाले २६ रनको योगदान गरे।
कप्तान शरद भेषवाकरले २४ रन र बसन्त रेग्मीले २० रन जोडे।
बलिङमा आर्मीका हरि चौहानले ५ विकेट लिए। उनले ९.४ ओभरमा ६० रन खर्चिए।
२४१ रनको लक्ष्य पछ्याएको आर्मीले ५० ओभरमा ८ विकेटको क्षतिमा २३४ रन जोड्यो। आर्मीका लागि ओपनर अनिल मण्डलले रनआउट हुनुअघि ७६ बलमा ४५ रन जोडे। रोहित पौडेलले ३० रन र भीम सार्कीले २७ रन बटुले।
राजेश पुलामीले ३३ रन, विक्रम शोवले २८ रन बनाए। आकास चन्दले नटआउट १६ रन र सहाब अलामले नटआउट १५ बटुले।
बलिङमा एपिएफका कमलसिंह ऐरीले ३ विकेट लिए। भुवन कार्कीको नाममा २ विकेट रह्यो।