नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३० रनले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो।
उपाधिका लागि अब एपिएफले बागमती प्रदेश र त्रिभुवन आर्मीबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ।
त्रिवि क्रिकेट मैदानमा एपिएफले दिएको २०४ रनको लक्ष्य पछ्याएको पुलिस ४ बल खेल्न बाँकी छदा १७३ रनमा अलआउट भयो।
सुरुमा घाइते भएका कारण नवौं नम्बरमा ब्याटिङमा आएका आरिफ शेखले १४ बलमा २ चौका र १ छक्काको मद्दतमा १६ रन जोडे। यस्तै सागर ढकाल अन्तिम विकेटको रुपमा ११ रनमा आउट भए।
खराब सुरुवात गरेको पुलिसका ओपनर सुनील धमला ३ रन र कुशल भुर्तेल शून्यमा आउट भए। अमित श्रेष्ठ पनि ८ रनमा पेभेलियन फर्केपछि पुलिसले ५ ओभरमा महत्वपूर्ण तीन विकेट गुमाउँदा १५ रन मात्र जोडेको थियो।
त्यसपछि दीपेन्द्रसिंह ऐरीले ३३ रन, अनिल साहले २१ रन र पवर सर्राफले ४० रन बटुलेका थिए। रासिद खानले पनि ३४ रनको योगदान दिए।
बलिङमा एपिएफका भुवन कार्कीले ४ विकेट लिए भने कलसिंह ऐरी, अभिनास बोहरा र कप्तान शरद भेषवाकारले २-२ विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले ९ विकेटको क्षतिमा २०३ रन जोड्यो।
एपिएफका लागि शंकर रानाले सबैभन्दा बढी ४४ रन जोडे। सन्दीप जोराले ३४ रन बटुल्दा भुवन कार्कीले ४२ रनको योगदान दिए। कमलसिंह ऐरीले १३ बलमा १९ रन जोड्दा अभिनास बोहराले ५ बलमा नटआउट ११ रन बटुले।
बलिङमा पुलिसका आरिफ शेखले ३ विकेट लिए। उनले १० ओभरमा १ मेडन राख्दा ३१ रन खर्चिए। ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए।