सोमपाल कामी सम्मिलित मराठा अरवियन्सले टी १० लिगमा विजयी सुरूआत गरेको छ। आज भएको खेलमा मराठाले नोर्दन वारियर्सलाई पाँच विकेटले हराएको छ।
जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको मराठाले १० ओभरमा ५ विकेट गुमाउँदै अन्तिम बलमा पूरा गरेको थियो। अन्तिम बलमा मोसदेक होसेनले चौका प्रहार गर्दै टोलीलाई पहिलो जित दिलाए।
मराठाको जितमा ओपनर अब्दूल सकुरले बिस्फोटक ब्याटिङ गरे। उनले २८ बलमा ७ चौका र ५ छक्का ७३ रनको रनको विष्फोटक इनिङ खेले। अब्दुल सकूरले १४ बलमै अर्धशतक प्रहार गरेका थिए। जावेद अमहद ६ र लाहिरु इभान्स ९ रनमा आउट भए। मोहम्मद हफिज १९ रनमा आउट भए । वारियर्सका लागि फबिएन एलेन २ विकेट लिए।
त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिला ब्याटिङ थालेको नर्दनले १० ओभरमा २ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो। नर्थनका लागि ओपनर लेन्डन सिमन्स ३१ बलमा ७ चौका र १ छक्कासहित ५४ रनमा अविजित रहे।
मराठा अरेबियन्समा आवद्ध नेपाली तिब्र गतिका बलर सोमपाल कामीले २ ओभरमा २८ रन खर्चे पनि विकेट लिन सकेनन्।
डेब्यू खेलमा सोमपलले टोलीको प्रमुख तीव्र गतिको बलरको रुपमा खेल्दै पहिलो र अन्तिम ओभर गरेका थिए ।
पहिलो ओभरमा ८ रन खर्चिएर किफायती बनेका कामीले अन्तिम ओभरमा २० रन दिए। कुल दुई ओभरमा २ छक्का र २ चौका दिएका थिए। ४ बल डट फालेका थिए।
यद्यपी उनले प्रतियोगितामा एउटा राम्रो क्याच लिएका छन्। आठौं ओभरको अन्तिम बलमा उनले वारियर्सका कप्तान निकोलास पुरानको क्याच लिएका हुन्। १९ रन बनाएर खेल्दै गरेका पुरन मुक्तर अलिको बलमा आउट भएका हुन्।
सोमपालको टोलीले अव शनिबार दिल्ली बुल्ससँग खेल्ने छ ।