नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि शनिबार भिड्दैछन्।
दुवै विभागीय टोलीले फाइनलमा स्थान बनाएपछि शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उपाधि भिडन्त पक्का गरेका हुन्।
आर्मी लगातार चौथोपटक प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो। चार मध्ये आर्मी पछिल्ला दुई फाइनलमा पराजित भएको थियो। पहिलो संस्करणको फाइनलमा भने आर्मी र नेपाल पुलिस क्लबले संयुक्त रुपमा उपाधि हात पारेका थिए।
आर्मीका कप्तान विनोद भण्डारीले हरेक खेलमा फरक-फरक खेलाडीले उत्कृष्ट प्रदर्शन गरेकाले टिमले फाइनलमा स्थान बनाउन सफल भएको बताए।
फाइनलअघि भण्डारीले भने,'कठिन परिस्थितिमा फरक-फरक खेलाडीले राम्रो खेलेका छन्।'
टिमका महत्वपूर्ण खेलाडी नभएकाले ब्याटिङ अर्डर मिलाउन गाह्रो भइरहेको उनको भनाइ छ। आर्मीका सोमपाल कामी र करण केसी अहिले टी-१० लिगका लागि युएईमा छन्।
यो सिजनदेखि आर्मीले ब्याट्सम्यान लोकेश बमलाई भित्र्याएको छ। उनलाई स्वतन्त्र भएर ब्याटिङ गर्ने जिम्मा दिएको उनले बताए।
यसअघि लगातार दुई फाइनल हारेको आर्मीले उपाधिका लागि खेल्ने भण्डारीको भनाइ छ। 'यसअघि के भयो भन्ने कुरा सोच्नु हुन्न। हामी आगामी खेलका लागि सोच्छौं। भोलि उपाधिका लागि खेल्नेछौं,' उनले भने।
एपिएफका कप्तान शरद भेषवाकारले कठिन परिस्थिति छिचोल्दै फाइनलसम्मको यात्रा तय गर्न सफल भएको बताए। फाइनल पुग्नमा टिम प्रदर्शन राम्रो भएको उनको भनाइ छ।
'चुनौतीपूर्ण परिस्थित पार गरेर यहाँ आइपुग्यौं। व्यक्तिगत भन्दा पनि हाम्रो टिम प्रदर्शन राम्रो भयो,' उनले भने,'भोलि राम्रो क्रिकेट खेल्दै उपाधि जित्न कोशिस गर्छौ।'
एपिएफका अनुभवी खेलाडी बसन्त रेग्मी फाइनलमा खेल्ने सम्भावना बढी भएको भेषवाकरको भनाइ छ।
आर्मीले दोस्रो सेमिफाइनलमा वाग्मती प्रदेशलाई ९४ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो। एपिएफले भने साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो।