युएईमा जारी टी १० लिगमा नेपाली खेलाडी करण केसीले क्रिस गेललाई बोल्ड गर्दै पहिलो विकेट लिएका छन्। यद्यपी उनको टिम पुणे डेभिल्सले भने दोस्रो हार ब्यहोरेको छ।
आइतबार साँझ भएको खेलमा आबुधावीले पुणे डेभिल्सलाई पाँच विकेटले हराएको हो।
आबुधावीस्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुणेले निर्धारीत १० ओभरमा चार विकेट गुमाउँदै १ सय २९ रन बनाएको थियो।
उसका लागि टोम काडमोरले सर्वाधिक ६१ रन बनाउँदै नटआउट रहे। चान्डविक वाल्टोनले २३ रन बनाउँदा एलेक्स डाभिसले नौ रनमा आउट भए।
टोम काडमोर र डेभोन थोमसले उत्कृष्ट ब्याटिङ गर्दै टिमलाई बलियो लक्ष्य दिएका हुन्। जसमा काडमोरले २५ बलमा विस्फोटक ६१ रन बनाउने क्रममा पाँच चौका र पाँच छक्का सामेल थियो। डेभोन थोमसले नौ बलमा २१ रन बनाए । जसमा उनले एक चौका र दुई छक्का प्रहार गरे ।
जवाफमा आबुधावी टिमले आठ ओभर तीन बलमा पाँच विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो।
उसका लागि पउल स्ट्रलिङले २३ रन बनाउँदा क्रिस गेलले नौ रन बनाए। यस्तै जोय क्लार्कले २९ रन बनाउँदा बेन डुकेटले २० रनको योगदान गरे। यस्तै लुक राइट मात्र ६ रनमा आउट भए । अन्तिममा जेमी ओभरटोनले टिमलाई जित दिलाए । उनले ११ बलमा ३८ रन बनाएका थिए।
१ ओभर मात्र बलिङ गरेका करण केसीले १८ रन खर्चिए पनि क्रिस गेलको महत्वपूर्ण विकेट लिए।
टिमको चौथो ओभरमा बलिङ लिएर आएका करणले पहिलो बलमा नै गेललाई बोल्ड गर्न सफल भएका थिए। उनले गेललाई मात्र नौ रनमा बोल्डआउट गरे।
त्यसपछि दोस्रो बल वाइड फालेका उनले अर्को बलमा चौका खाएका थिए। तेस्रो बलमा एक रन दिएका करणले चौथो, पाँचौ र अन्तिम बलमा उनले चौका दिएका थिए।
यसअघि दुवै खेलमा करण विकेटविहिन थिए। करणले कलन्दर्सविरुद्ध १ ओभर बलिङ गर्दै ९ रन खर्चेका थिए । करणले पहिलो खेलमा डेकन ग्ल्याडियटर्सविरुद्ध एक ओभरमा १७ रन खर्चेका थिए।