प्रधानमन्त्री केपी शर्मा ओलीले मुलपानी क्रिकेट रंगशाला अझै निर्माण सम्पन्न नभएकोमा आश्चर्य प्रकट गरेका छन्।
मंगलबार राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको 'खेलकुदसँग प्रधानमन्त्री' कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलपानी रंगशाला अझै नबनेको विषयमा आश्चर्य व्यक्त गरेका हुन्।
सुरुमा आफ्नो भनाइ राखेका प्रधानमन्त्रीलाई अन्तर्क्रियामा सहभागीले 'मुलपानी क्रिकेट रंगशाला कहिले निर्माण सम्पन्न हुन्छ?' भनेर प्रश्न सोधेका थिए।
त्यसपछि ओलीले मञ्चमा रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालतर्फ हेरेर 'अझै बनिसक्या छैन?' भनेर सोधेका थिए।
मञ्चबाट दुई वर्षभित्रमा रंगशाला बनिसक्ने जवाफ आएको थियो।
'धेरै वर्ष भइसक्यो। अझै बनिसकेको छैन भन्दा छक्क लाग्यो,' ओलीले भने,'अब छिटै बनिसक्छ।'
निर्माण सुरु भएको एक दशक बितिसक्दा पनि मुलापानी क्रिकेट रंगशालाको निर्माण अझै सकिएको छ। जग्गा मुआब्जाको विवाद र बजेट अभावले रंगशाला निर्माण कार्यमा ढिलाइ हुँदै आएको छ।
कार्यक्रममा १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडीलाई सरकारले प्रदान गर्ने मानपदावी नदिएको विषयमा पनि ओलीलाई प्रश्न गरिएको थियो।
प्रश्न लगत्तै ओलीले मञ्चमा रहेका परिषद्का कर्मचारीलाई 'कसैले पनि पाएन न र?' भनेर सोधेका थिए। विभागीय टिमा आबद्ध खेलाडीले मात्र पाएको जवाफ आएपछि ओलीले सरकारले आगामी दिनमा ध्यान दिने बताए।