रुपन्देहीको भैरहवामा सम्पन्न तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि होराइजनले जितेको छ।
सुपर ओभरमा धनगढी क्रिकेट एकेडेमीलाई ८ रनले पराजित गर्दै न्यू होराइजन क्रिकेट एकेडेमीले उपाधि जितेको हो।
जितसँगै उसले २० हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गर्यो भने उपविजेता धनगढीले १० हजार रुपैयाँ र ट्रफीमै चित्त बुझायो।
सिद्धार्थ रंगशालामा शुक्रबार भएको फाइनलमा टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित ३५ ओभरमा ७ विकेट क्षतिमा १४८ रन बनायो। उसका लागि पुष्पराज उपाध्यायले ३९, सचिन साउदले ३३ र खगेन्द्र कुँवरले २७ रन बनाए।
बलिङमा होराइजनका सुमित पराजुलीले ३, अनिल थापाले २ र समिर खानले १ विकेट लिए।
जवाफी ब्याटिङ गरेको होराइजनले ३४ ओभर ४ बलमा सबै विकेट गुमाई १४८ नै बनायो। उसका लागि राहुल भण्डारीले २९, सुमित पराजुलीले १८ र सचिन थापाले १० रन बनाए। बलिङमा धनगढीका सन्दीप विष्ट र रजत रानाले समान ३/३ विकेट लिए।
सुपर ओभरमा होराइजनले १ विकेटको क्षतिमा १२ रन बनाएको थियो। धनगढीले भने १ विकेट क्षतिमा ४ रन मात्रै बनाउन सक्यो। होराइजनका सुमित पराजुली म्यान अफ द फाइनल भई पुरस्कृत भए।
त्यस्तै, प्रतियोगितामा म्यान अफ द सिरिज र वेष्ट ब्याट्सम्यान धनगढीका कप्तान नरेन भट्ट घोषित भए भने धनगढीकै रजत रानाले उत्कृष्ट बलरको उपाधि प्राप्त गरे।
विजेतालाई प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डेय, रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्ल र रामकुमारी गौचन लगायतले पुरस्कार प्रदान गरेका थिए।
पूर्वराष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमीको आयोजनामा प्रतियोगिता भएको थियो। स्वर्गीय खड्गप्रसाद गौचन शक्तिका बुवा हुन्।