नेपाली युवा क्रिकेट खेलाडी कुशल मल्लले डेब्यु गरेको टी– १० लिगमा उनी आवद्ध टिम आबुधाबी तेस्रो भएको छ। शनिबार राति सम्पन्न खेलमा कलन्दर्सलाई २१ रनले हराउँदै टिम आबुधाबी तेस्रो भएको हो।
युनाइटेड अरब इमिरेट्स (युएई)को आबूधाबीमा जारी टी–१० लिगमा कलन्दर्सले टस जितेर फिल्डिङ रोेजेको थियो। टिम आबुधाबीले ब्याटिङ गर्दै निर्धारित १० ओभरमा ६ विकेटको क्षतिमा १२४ रन बनायो। एक सय २५ रनको विजयी लक्ष्य पछ्याएको कलन्दर्सले १० ओभरमा पाँच विकेट गुमाउँदै मात्र १०३ रन बनाउन सक्यो।
कलन्दर्सविरुद्धको खेलमा डेब्यु गर्दै नेपाली अलराउण्डर कुशल मल्लले १२ बलमा १८ रनको योगदान दिए। उनले यस क्रममा एक छक्का र एक चौका समेत प्रहार गरेका थिए।
यसअघिका खेलमा टिम आबुधाबीले मल्ललाई खेल्ने अवसर प्रदान गरेको थिएन। मल्ल आज पौल स्र्टलिङ र लियोनार्दो जुलियनपछि तेस्रो नम्बरमा टिम आबुधाबीका लागि ब्याटिङ गर्न मैदानमा उत्रिएका थिए। उनलाई सातौं ओभरको चौथो बलमा कलन्दर्सका मोहम्मद जिहादले बोल्ड गर्दै पेभेलियन फर्काए।
युएईमा जारी टी– १० लिगमा मल्लका साथै नेपाली राष्ट्रिय क्रिकेट टोलीका सोमपाल कामी र करण केसीले खेलिरहेका छन्। पूर्व कप्तान पारस खड्का आबुधाबीकै टिम मेन्टर हुन्।