बंगलादेशविरुद्धको पहिलो टेस्टमा वेस्ट इन्डिजले रोमाञ्चक जित हात पारेको छ। वेस्ट इन्डिजले घरेलु टिम बंगलादेशलाई ३ विकेटले पराजित गरेको हो।
बंगलादेशले दिएको ३९५ रनको लक्ष्य वेस्ट इन्डिजले ७ विकेटको क्षतिमा पूरा गर्यो। वेस्ट इन्डिजको जितमा डेब्यू खेलाडी केल मायर्सले दोहोरो शतक प्रहार गरे। उनले नटआउट २१० जोडे।
मायर्सले प्रहार गरेको २१० रन टेस्ट डेब्यूको पाँचौ ठूलो स्कोर हो। यस्तै उनी चौथो इनिङ्ग्समा दोहोरो शतक हिर्काउने छैटौं खेलाडी हुन्।
बलिङमा बंगलादेशका मेहदी हसन मिराजले ४ विकेट लिए।
त्यसअघि बंगलादेशले दोस्रो इनिङ्ग्समा ८ विकेटको क्षतिमा २२३ रन जोडेर इनिङ्ग्स समाप्तीको घोषणा गरेको थियो। जससँगै वेस्ट इन्डिजले ३९५ रनको लक्ष्य पाएको थियो।
पहिलो इनिङ्ग्समा बंगलादेशले ४३० रन जोड्दा वेस्ट इन्डिज २५९ रनमा अलआउट भएको थियो।
पहिलो इनिङ्ग्समा बंगलादेशका मेहदी हसन मिराजले १०३ रन जोडेका थिए।