नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिका, ओमान र नेपालबीचको एकदिवसीय सिरिजका लागि तयारी सुरु गरेको छ।
आइसिसी क्रिकेट विश्वकप लिग-२ का लागि नवनियुक्त प्रशिक्षक डेभ वाटमोरले प्रारम्भिक टिममा परेका २१ खेलाडीलाई समावेश गरेर प्रशिक्षण सुरु गरेका हुन्।
एक साताअघि सम्पन्न प्रधानमन्त्री कपमा गरेको प्रदर्शनको आधारमा नेपाल क्रिकेट संघ (क्यान) ले ३२ जना खेलाडीको नाम सार्वजनिक गरेको थियो। सुरुआती चरणमा भने २१ खेलाडी अभ्यासमा सहभागी छन्।
आगामी मार्चमा नेपालले सिरिजका लागि ओमान भ्रमण गर्दैछ।
पहिलो चरणमा क्याम्पमा बोलाइएका युवा खेलाडीमा सम्भावना भएको प्रशिक्षक वाटमोरले बताए। साथै नेपाली टिममा जोश जाँगर भएका युवा खेलाडी भएकाले राम्रो नतिजा निकाल्न सक्ने उनको भनाइ छ।
उनले सुरुवाती चरणमा सबै खेलाडीको प्रतिभा हेरेको बताए। साथै उनले आफ्नो अनुभवको आधारमा प्रशिक्षण गराउने बताए।
पाँच वर्षपछि राष्ट्रिय टिमको क्याम्पमा फर्किएका पृथु बास्कोटाले राम्रो खेलेर टिममा अटाउन प्रयास गर्ने बताए।
यस्तै राष्ट्रिय टोलीमा पहिलो पटक क्याम्पमा परेका विवेक यादव र अर्जुन कुमालले पनि राम्रो प्रदर्शन गरेर टोलीमा अटाउन प्रयास गर्ने बताए।
विवेक र अर्जुन प्रधानमन्त्री कपमा गरेको प्रदर्शनको आधारमा छनोटमा परेका हुन्।
टिममा परेका ३२ खेलाडी मध्ये शरद भेषवाकार, अभिनास बोहोरा, आरिफ शेख, दीपेन्द्रसिंए ऐरी, सोमपाल कामी, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, विनोद भण्डारी, पारस खड्का र ज्ञानेन्द्र मल्ल दोस्रो चरणको प्रशिक्षणमा सहभागी हुनेछन्।