चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि ललितपुर महानगरपालिकाले रु २० लाख सहयोग गरेको छ।
रङ्गशाला निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेशन र महानगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) लाई रु २० लाख बराबरको चेक हस्तान्तरण गरे।
कार्यक्रममा प्रमुख महर्जनले रङ्गशाला निर्माणका लागि सबैको थोरैथोरै सहयोगले बल पुग्ने बताए।
उनले सबैको हातेमालोबाट रङ्गशाला निर्माण हुनेमा विश्वस्त रहेको उल्लेख गरे।
फाउण्डेशनका अध्यक्ष धुर्मुसले अप्ठ्यारो परिस्थितिमा ललितपुर महानगरपालिकाले गरेको सहयोगले देशको रङ्गशाला निर्माण भइरहेको छ भन्ने सन्देश दिएको बताए।
रङ्गशाला निर्माणका लागि देशभरका विभिन्न पालिकाबाट सहयोग प्राप्त हुनेक्रम बढ्दै गएको पनि फाउण्डेशनका अध्यक्ष कट्टेलले जानकारी दिए।
महानगरपालिकाको सहयोगबाट रङ्गशाला निर्माणका लागि ऊर्जा थपिएको पनि उनले बताए।