न्यूजिल्याण्ड र अष्ट्रेलियाबीच पाँच खेलको टी २० सिरिज २-२ को बराबरीमा पुगेको छ। चौथो खेलमा अष्ट्रेलिया ५० रनले विजयी भएपछि उपाधिको टुंगो अन्तिम खेलमा लाग्ने भएको हो।
विलिङटनमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५६ रन बनायो।
जितका लागि १ सय ५७ रनको विजयी पछ्याएको घरेलु टोली न्युजिल्यान्ड १८.५ ओभरमा १ सय ६ रनमा अलआउट भयो। न्युजिल्यान्डका तल्लोक्रमका काइल जामिसनले १८ बलमा ५ चौकासहित सर्वाधिक ३० रनको योगदान दिए । टिम सिफर्टले १९ र देभन कन्वे १७ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कप्तान केन विलियम्सन ८, मार्टिन गुप्टिल ७, ग्लेन फिलिप्स १, जेम्स निसम र मिचेल सान्टनर ३–३ रनमा आउट भए ।
अष्ट्रेलिया तीव्र गतिका बलर केन रिचर्डसनले २.५ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । एस्टन अगर, एडम जाम्पा र ग्लेन म्याक्सवेलले २–२ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५६ रन बनाएको थियो। अष्ट्रेलिया लागि कप्तान आरोन फिन्च ५५ बलमा ५ चौका र ४ छक्का सहित ७९ रनमा अविजित रहे। म्याथ्यु वेड १४, जोश फिलिपे १३, ग्लेन म्याक्सवेल १८ र मार्कस स्टोइनिस १९ रनमा आउट भए। न्युजिल्यान्डका स्पिनर ईश सोधीले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । ट्रेन्ट बोल्टले २ र मिचेल सान्टनरले १ विकेट लिए।
पहिलो खेलमा न्यूजिल्याण्ड ५३ रन र दोस्रोमा ४ रनले विजयी भएको थियो। तेस्रो खेलमा अष्ट्रेलिया ६४ रनले विजयी भएको थियो। अब पाँचौं तथा निर्णाक खेल आइतबार हुनेछ।