श्रीलंकाले दोस्रो टी २० आई खेलमा वेस्टइन्डिजलाई हराउँदे ३ खेलको सिरिज १-१ को बराबरीमा ल्याएको छ।
शनिबार बिहान सम्पन्न खेलमा श्रीलंकाले वेष्टइन्डिजमाथि ४३ रनको सहज जित निकालेको हो।
श्रीलंकाले दिएको १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज १८.४ ओभरमा १ सय १७ रनमा अल आउट भएको थियो।
वेस्टइन्डिजका लागि ओबेद म्याकोयले २३ र ओपनर लेन्डन सिमन्सले २१ रन बनाउँदा क्रिस गेल १६, निकोलस पुरन ८, काइरन पोलार्ड १३ र फकियन एलेन १२ रन बनाएका थिए।
वेस्टइन्डिजलाई सस्तैमा समेट्न श्रीलंका स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। अर्का स्पिनर लक्शान संदाकनले ३.४ ओभरमा १० रन खर्चेर ३ विकेट लिए। दुश्मन्था चामेराले २ विकेट लिए ।
यसअघि एन्टिगुआमा टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन बनाएको थियो। उसका लागि ओपनर दनुष्का गुणथिलाकाले अर्धसतक पुरा गरेका थिए। ४२ बल खेलेका उनले ४ चौका र २ छक्का सहित सर्वाधिक ५६ रनको योगदान दिए।
अर्का ओपनर पाथुम निसान्काले ३७ रन बनाउँदा कप्तान एन्जिलो म्याथ्युजले १३, एशेन बान्डाराले २१ र वानिन्दुले १९ रन बनाए।
वेस्टइन्डिजका ड्वेन ब्राभोले २, ओबेद म्याकोय र जेसन होल्डरले १–१ विकेट लिए ।
पहिलो खेलमा वेस्टइन्डिज ४ विकेटले विजयी भएको थियो। अब तेस्रो तथा निर्णायक खेल आगामी सोमबार हुनेछ।