भारतविरुद्धको पहिलो टी-२० मा इङ्ग्ल्याण्ड ८ विकेटले विजयी भएको छ।
अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा भारतले दिएको १२५ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले १५.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो।
उसका लागि ओपनर जेसन रोय र डेविड मलानले ७२ रनको साझेदारी गर्दै राम्रो सुरूवात दिलाएका थिए। आठौं ओभरमा युजभेन्द्र चहलबाट एलबिडब्लु हुनु अघि बटलरले २८ रन बनाउँदा अर्धशतक बनाउन १ रनले चुक्दै १२ औं ओभरमा जेसन रोय वासिंगटन सुन्दरबाट एलबिडब्लु आउट भए। उनले ३२ बलमा ४ चौका र ३ छक्का मद्दतले ४९ रन बनाएका थिए।
तेस्रो विकेटको लागि डेविड मलान र जोने बेयरस्टोले अविजित ४१ रनको साझेदारी गर्दै जितसम्म पुर्याए। मलानले २० बलमा २ चौका र १ छक्का मद्दतले २४ रन तथा बेयरस्टोले १७ बलमा १ चौका र २ छक्का मद्दतले २६ रन बनाएका थिए।
भारतका लागि वासिंगटन सुन्दर र युजभेन्द्र चहलले समान १-१ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२४ रन बनाएको थियो।
निकै खराब सुरूवात गरेको भारतले पहिलो ओभरमा १ रन मात्र ओपनर केएल राहुललाई जोफ्रा आर्चरले बोल्ड गरे। तेस्रो ओभरमा खाता नखोल्दै कप्तान बिराट कोहलीलाई आदील राशिदले क्याच आउट गराए। पाँचौ ओभरमा अर्का ओपनर शिखर धवन व्यक्तिगत ४ रन बनाएर मार्क वुडबाट बोल्ड भएका थिए।
२० रन बनाउँदा ३ विकेट गुमाएको भारतका लागि श्रेयस ऐयर र ऋषव पन्तले केही अगाडि लगे। २८ रनको साझेदारी गरेपछि रिशभ पन्तलाई बेन स्टोक्सले क्याच आउट गराए। पन्तले २३ बलमा २ चौका र १ छक्का मद्दतले २१ रन बनाए।
पन्तको विकेटपछि ऐयरले हार्दिक पान्ड्यासँग ५४ रनको साझेदारी गरे। १८ औं ओभरमा पान्ड्या र शार्दुल ठाकुरलाई लगत्तै बलमा आर्चरले क्याच आउट गराए। पान्ड्याले २१ बलमा १ चौका र १ छक्का मद्दतले १९ रन बनाए भने ठाकुरले खाता खोल्न सकेनन्। १८ औं ओभरमा आर्चरले मात्र ३ रन खर्चेर २ विकेट लिए।
२० औं ओभरमा ६७ रन बनाएर श्रेयस ऐयरलाई क्रिस जोर्डनले क्याच आउट गराए। उनले ४८ बलमा ८ चौका र १ छक्का हिर्काएका थिए। अक्षर पटेलले अविजित ७ तथा वासिंगटन सुन्दरले अविजित ३ रन बनाउँदै टोलीको स्कोर मध्यम पुर्याए।
इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले सर्वाधिक ३ विकेट लिए। आदील रशिद, मार्क वुड, बेन स्टोक्स र क्रिस जोर्डनले समान १-१ विकेट लिएका थिए।
पाँच वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोस्रो खेल अहमदावादमै मंगलबार खेलिनेछ।