वेस्ट इन्डिजले श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ। नर्थ साउण्डमा शुक्रबार राति भएको दोस्रो खेलमा श्रीलंकामाथि ५ विकेटको जित निकाल्दै घरेलु टोली वेस्ट इन्डिज तीन खेलको सिरिज एक खेल अगाबै जितेको हो।
यसअघि पहिलो एकदिवसीयमा वेस्ट इन्डिजले ८ विकेटको जित निकालेको थियो।
शुक्रबार श्रीलंकाले दिएको २ सय ७४ रनको लक्ष्य वेस्ट इन्डिजले अन्तिम २ बल बाँकी छँदा ५ विकेट गुमाएर पूरा गर्यो। उसका लागि इभिन लेविसले १ सय ३ रनको शतकीय इनिङ्स खेल्दा शाइ होपले ४८ रन बनाएका थिए।
निकोलस पुरन ३५ रनमा अविजित रहँदा कप्तान केइरन पोलार्ड र फाबियन एलनले समान १५/१५ रनको योगदान दिए।
बलिङतर्फ श्रीलंकाका नुवान प्रदिप र थिसरा परेराले समान २/२ विकेट लिए पनि हार टार्न सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७३ रन बनाएको थियो।
उसका लागि दनुश्का गुनाथिलकाले ९६ रनको अर्धशतकीय इनिङ्स खेल्दा दिनेश चण्डीमालले ७१ रनको इनिङ्स खेले।
यस्तै डी सिल्भा अर्धसतक बनाउनबाट ३ रनले चुके। कप्तान दिमुथ करुनारत्ने १ रनमा आउट हुँदा थिसरा परेराले १९ रन बनाए।
वेस्ट इन्डिजका लागि जासन मोहमदले ३ तथा अल्जारी जोसेफले २ विकेट लिएका थिए।
३ खेलको सिरिज अन्तर्गत अन्तिम खेल आइतबार हुनेछ।