घरेलु टोली दक्षिण अफ्रिकालाई हराउँदै पाकिस्तानले तीन खेलको एक दिवसीय सिरिज जितेको छ। गए राति भएको निर्णायक खेलमा घरेलु टोलीलाई २८ रनले हराउँदै पाकिस्तानले सिरिज २-१ ले जितेको हो।
सुपर स्पोर्ट्स पार्क, सेन्चुरीयनमा भएको खेलमा पाकिस्तानले दिएको ३२१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीका ४९.३ ओभरमा अल आउट हुँदै २९२ रनमा समेटियो।
अफ्रिकाका लागि ओपनर जान्नेमन मलानले सर्वाधिक ७० रन बनाउँदा कायल भेरीनेले ६२ रन तथा एन्डीले फेलुक्वायोले ५४ रन जोडेका थिए।
कुनै समय १४० रनमा ५ विकेट गुमाएको दक्षिण अफ्रिकाको लागि कायल भेरीने र एन्डीले फेलुक्वायोले शतकीय साझेदारी गर्दै जितको आशा जगाएका थिए। तर ४४ औं ओभरमा भेरीनेलाई हरिश रौफले आउट गर्दै पाकिस्तानलाई खेलमा फर्काए।
लगत्तै ओभरमा फेलुक्वायोलाई हसन अलिले आउट गराएपछि पाकिस्तान खेलमा हावी भयो।
पाकिस्तानका लागि शाहिन अफ्रिदी र मोहम्मद नवाजले समान ३-३ विकेट लिए। यस्तै हरिश रौफले २ विकेट लिंदा हासल अलि र उस्मान कादिरले समान १-१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोली पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३२० रन बनायो।
उसका लागि ओपनर फखर जमानले सतकीय इनिङ्स खेले। छैठौं एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाउने क्रममा उनले १०४ बलमा ९ चौका र ३ छक्कासहित १०१ रन बनाए।
यस्तै कप्तान बाबर आजमले ९४ रन बनाउँदा इमाम उल हकले ५७ रन जोडेका थिए। हसन अलिले इनिंग्सको अन्तिममा आक्रामक ब्याटिंग गर्दै ११ बलमा ४ छक्का र १ चौका मद्दतले ३२ रन बनाउँदै टोलीलाई सम्मानजनक स्थितिमा पुर्याए।
दक्षिण अफ्रीकाका लागि केशव महाराजले सर्वाधिक ३ विकेट लिए। एडेन मार्क्रमले २ तथा एन्डीले फेलुक्वायो र जेजे स्मट्सले समान १-१ विकेट लिए।
खेलको प्लेयर अफ द म्याच बाबर आजम चुनिए भने प्लेयर अफ द सिरिज फखर जमान चुनिए।
सिरिज अन्तर्गत पहिलो खेल पाकिस्तानले ३ विकेटले जितेको थियो भने दोस्रो खेल दक्षिण अफ्रीकाले १७ रनले जितेको थियो।
दुई देश बीच अब अप्रिल १० तारिखदेखि ४ वटा टी-२० अन्तर्राष्ट्रियको सिरिज हुनेछ।