चेन्नई सुपर किङ्सलाई हराउँदै दिल्ली क्यापिटलले भारतमा जारी १४ औं संस्करणको इन्डीयन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरूआत गरेको छ।
प्रतियोगिता अन्तर्गत शनिबार राति दिल्लीले महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नाई सुपर किंग्सलाई ७ विकेटले हराएको हो।
मुम्बईको वान्खेडे रंगशालमा चेन्नईले दिएको १८९ रनको लक्ष्य पछ्याएको दिल्लीले मात्र ३ विकेटको क्षतिमा १८.४ ओभरमा पुरा गर्यो।
दिल्लीलाई सहज जित दिलाउने ओपनरद्वयले अर्धसतकीय इनिङ्स खेले।
ओपनर शिखर धवनले सर्वाधिक ८५ रन बनाउँदा पृथ्वी शाले ७२ रनको उत्कृष्ट पारी खेले।
उनीहरूले पहिलो विकेटका लागि १३८ रनको साझेदारी गरेका थिए। २७ बलमा ५० रन बनाएका शाले ३८ बल खेल्दै ९ चौका र ३ छक्कासहित ७२ रन बनाए। यस्तै ३५ बलमा ५० रन बनाएका धवनले ५४ बल खेल्दै १० चौका र २ छक्कासहित ८५ रन जोडे।
मार्कस स्टोनिसले १४ रन बनाउँदा कप्तान ऋषव पन्त १५ रनमा नटआउट रहे।
चेन्नईका लागि शार्दुल ठाकुर र ड्वायेन ब्राभोले समान १-१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाई सुपर किंग्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनाएको थियो।
चेन्नाईका लागि सुरेश रैनाने अर्धसतकीय इनिङ्स खेले। रैनाले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए। यस्तै मोइन अलीले ३६ रन बनाउँदा शाम चुरानले ३४, रविन्द्र जडेजाले २६ तथा अम्बाती रायडुले २४ रन जोडे।
चेन्नाईका कप्तान महेन्द्र सिंह धोनी र फाफ डु प्लेसी शून्य रनमा आउट भए। आईपीएल इतिहासमा धोनी मात्र चौथो पटक खाता नखोली आउट भएका हुन्।
दिल्लीका लागि आभेस खान र क्रिस वोक्सले समान २-२ विकेट लिए। रभीचन्द्रन आश्विन, टम करनले १-१ विकेट हात पारे।