दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टी-२० सिरिजमा पाकिस्तानले ९ विकेटको सानदार जित निकालेको छ।
दक्षिण अफ्रिकाले दिएको २ सय ४ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले १८ ओभरमा मात्र एक विकेट गुमाएर भेट्टायो ।
उसका लागि कप्तान बाबर आजमले शतकीय पारी खेले। ५९ बल खेलेका उनले १५ चौका र चार छक्कासहित १२२ रन बनाए। टी-२० अन्तर्राष्ट्रियमा बाबरको यो नै पहिलो शतक हो । यस्तै, मोहम्मद रिजवानले अविजित ७३ रन बनाउने क्रममा ४७ बल खेलेर पाँच चौका र दुई छक्का हिर्काए।
बाबर र रिजवानले टी-२० मा पहिलो विकेटका लागि कीर्तिमानी ठूलो साझेदारी गरेका हुन्।
बाबर र रिजवानबीच पहिलो विकेट लागि १९७ रनको साझेदारी गरेका थिए। पाकिस्तानका लागि अन्तर्राष्ट्रिय टी-२० मा पहिलो विकेटका लागि यति ठूलो साझेदारी गर्ने बाबर र रिजावन पहिलो ब्याट्सम्यानसमेत बने।
यसअघि पाकिस्तानमा पहिलो विकेटका लागि सर्वाधिक रनको साझेदारीको कीर्तिमान कमरन अकमल र सलमान बटको नाममा थियो । उनीहरूले सन् २०१० मा बंगलादेशविरुद्ध पहिलो विकेटका लागि १४२ रनको साझेदारी गरेका थिए।
फखर जमानले २ बलमा नटआउट ८ रन बनाउँदै पाकिस्तानलाई जिताए।
बलिङमा अफ्रिकाका लिजाड विलियम्सले एक विकेट लिएका थिए।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेकोदक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन बनाउको थियो।
उसका लागि एडम मार्करम र जान्नेमान मलानले अर्धशतकीय पारी खेले ।
मार्करमले ३१ बलमा चार छक्का र ६ चौकासहित ६३ रन बनाउँदा मलानले ४० बलमा दुई छक्का र ५ चौकासहित ५५ रन बनाए।
त्यसबाहेक रस्सीभानडर दुसेनले अविजित ३४, जर्ज लिन्डेले २२ कप्तान हेनरिक क्लासेनले १५ र एन्डिले फेहलक्वायोले ११ रनको योगदान दिए ।
बलिङमा पाकिस्तानका लागि मोहम्मद नवाजले दुई, हसन अली, शाहीनसाह अफ्रिदी र फहीम असरफले समान एक/एक विकेट लिए ।
आजको जितसँगै चार खेलको सिरिजमा पाकिस्तानले २-१ को अग्रता बनाएको छ। यी दुई टिमबीचको अन्तिम टी-२० खेल आगामी शुक्रबार हुनेछ।