गत वर्षको उपविजेता दिल्ली क्यापिटललाई हराउँदै १४औं संस्करणको आईपीएलमा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ।
बिहिबार मुम्बईमा भएको खेलमा दिल्लीलाई ३ विकेटले हराउँदै राजस्थान रोयल्सले पहिलो जित निकालेको हो।
दिल्लीले दिएको १४७ रनको मध्यम लक्ष्य पछ्याएको राजस्थानले अन्तिम २ बल अगाडि ७ विकेट गुमाएर पुरा गर्यो।
उसका लागि डेभिड मिलरले सर्वाधिक ६२ रन बनाए। ४३ बल खेलेका उनले ७ चौका र २ छक्का प्रहार गरेका थिए। यस्तै क्रिस मोरिसले बस्फोटक ब्याटिङ गर्दै १८ बलमा ३६ रन बनाएर राजस्थानलाई रोमाञ्चक जित दिलाए।
राजस्थानका लागि राहुल तेवाटियाले १९ र जयदेव उनादकटले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन्।
दिल्लीका लागि आभेस खानले ३ विकेट लिए। यस्तै क्रिस वाक्स र कागिशो रबाडाले समान २-२ विकेट लिए पनि त्यो जितका लागि पर्याप्त रहेन।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो।
उसका लागि कप्तान ऋषभ पन्तले अर्धशतकीय पारी खेले। उनले ३२ बलमा ९ चौकासहित ५१ रन बनाए ।
त्यस्तै, टम करनले २१, ललित यादवले २० र क्रिस वक्सले अविजित १२ रन बनाए ।
बलिङमा राजस्थानका जयदेव उनादकटले तीन, मुस्तफिजुर रहमानले दुई र क्रिस मोरिसले एक विकेट लिए।
यसअघि आफ्नो पहिलो खेलमा चेन्नई सुपर किंग्स (सीएसके) लाई हराउँदै दिल्लीले उत्कृष्ट सुरुवात गरेको थियो भने राजस्थान पञ्जावसँग ४ रनले पराजित भएको थियो।