पन्जाब किंग्सलाई ६ विकेटले हराउँदै चेन्नाई सुपर किंग्सले १४ औं संस्करणको आईपीएलमा पहिलो जित दर्ता गएको छ।
मुम्बईस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा पन्जाबले दिएको १०७ रनको सामान्य लक्ष्य चेन्नाईले १५.४ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।
लक्ष्य पछ्याउने क्रममा ओपनर रुतुराज गायकवाड ५ रन बनाएर आउट भएपछि अर्का ओपनर फाफ डु प्लेसीले एक किनार सम्हाले। डु प्लेसीले दोस्रो विकेटको लागि मोईन अलिसँग ६६ रनको साझेदारी गरे।
१३ औं ओभरमा अलि ४६ रन बनाएर आउट हुनुअघि ३१ बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए। १५ औं ओभरमा ८ रन बनाएका सुरेश रैना तथा खाता नखोली अम्बाती रायडु मोहम्मद शामीबाट क्याच आउट भए।
जित नजिक पुगीसकेको चेन्नईलाई डु प्लेसीले अविजित ३६ रन बनाउँदै महत्वपूर्ण २ अंक दिलाए।
पन्जाबका लागि मोहम्मद शामीले २ विकेट लिँदा अर्शदिप सिंह र मुरूगन आश्विनले समान १-१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाब किंग्सले २० ओभरमा ८ गुमाउँदै मात्र १०६ रन बनाएको थियो।
खराब सुरूवात गरेको पन्जाबले पहिलो ५ विकेट २५ रनमै गुमाएको थियो। पहिलो ओभरमा खाता नखोल्दै मायाँक अग्रवाललाई दिपक चाहरले बोल्ड गरेका थिए। तेस्रो ओभरमा केएल राहुल ५ रन बनाएर रन आउट हुन पुगे। १० रन बनाएका क्रिस गेल र खाता नखोल्दै निकोलस पुरनलाई चाहरले पाँचौ ओभरमा क्याच आउट गराए।
सातौँ ओभरमा १० रन बनाएर दिपक हुडा पनि चाहरको शिकार भए।
त्यसपछि छैठौं नम्बरमा ब्याटिङ गर्न आएका शाहरुख खानले एक किनार सम्हाल्दै टिमको योगफल १०० पार गराए। अन्तिम ओभरमा आउट हुनुअघि खानले ३६ बलमा ४ चौका र २ छक्का मद्दतले ४७ रन बनाए। झाई रिचर्डसनले १५ रन जोडे।
चेन्नाईको बलिङमा दिपक चाहरले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा १ मेडन ओभर गर्दै मात्र १३ रन खर्चिए। स्याम करन, मोईन अलि र ड्वेन ब्राभोले समान १-१ विकेट लिए।