कोलाकाता नाइट राइडर्स (केकेआर) लाई हराउँदै रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
भारतमा जारी १४औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएलको १०औं खेलमा केकेआरलाई ३८ रनले हराउँदै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको आरसीबी शीर्ष स्थानमा उक्लिएको हो।
आरसीबीले यसअघि पहिलो खेलमा मुम्बई इण्डियन्स र दोस्रो खेलमा सनराइजर्स हैदराबादलाई हराएको थियो। यता केकेआरको यो लगातार दोस्रो हार हो।
केकेआरले यसअघि आफ्नो पहिलो खेलमा हैदराबादलाई हराउँदा दोस्रो खेलमा मुम्बईविरूद्ध हार व्यहोरेको थियो।
आरसीबीले दिएको २ सय ५ रनको बिशाल लक्ष्य पछ्याएको केकेआरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६६ रन मात्र बनाउन सक्यो ।
उसका लागि आन्द्रे रसेलले ३०, कप्तान इयोन मोर्गनले २९, शाकिवअल हसनले २६, राहुल त्रिपाठीले २५, शुभमन गिलले २१, नीतिश राणाले १८ रन बनाए ।
आरसीबीका लागि कायल जेमिसनले तीन, हर्षल पटेल, युजवेन्द्र चहलले दुई/दुई र वासिङ्टन सुन्दरले एक विकेट लिएका थिए।
यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो।
उसका लागि ग्लेन म्याक्सेवल र एबी डिभिलियर्सले आक्रामक अर्धसतक बनाए। म्याक्सवेलले ४९ बलमा ९ चौका र तीन छक्कासहित ७८ रन बनाउँदा डिभिलियर्सले ३४ बलमा ९ चौका र ४ छक्काको मद्दतमा अविजित ७६ रनको योगदान दिए।
यस्तै देवदत्त पाडिक्कलले २५, कायल जेमिसनले अविजित ११ रन बनाउँदा कप्तान विराट कोहली पाँच र रजत पाटिदार एक रनमै आउट भएका थिए।
बलिङमा केकेआरका लागि वरूण चक्रवर्तीले दुई, प्याट कमिन्स र प्रशिद्ध कृष्णाले एक/एक विकेट लिए।