भारतमा जारी १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सलाई १० विकेटले हराउँदै रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) शीर्ष स्थानमा उक्लिएको छ।
राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य आरसीबीले १६.३ ओभरमा बिना कुनै विकेट क्षति भेट्टायो। उसका लागि देवदत्त पाडिक्कलले शतकीय पारी खेले ।
५२ बल खेलेका उनले ११ चौका र ६ छक्कासहित अविजित १०१ रन बनाउँदा कप्तान विराट कोहलीले ४७ बलमा ६ चौका र तीन छक्कासहित नटआउट ७२ रन बनाए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो।
उसका लागि शिवम दुबे र राहुल तेवटियाले उत्कृष्ट ब्याटिङ गरे । दुबेले ३२ बलमा पाँच चौका र दुई छक्कासहित ४६ र तेवटियाले २३ बलमा चार चौका र दुई छक्काको मद्दतमा ४० रनको पारी खेले ।
त्यस्तै, रियान परागले २५, सञ्जु सामसनले २१ र क्रिस मोरिसले १० रन बनाए ।
बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बलिङमा हर्षल पटेल, मोहम्मद सिराजले तीन/तीन, कायल जेमिसन, केन रिचडर्सन र वासिङ्टन सुन्दरले आरसीबीका लागि एक/एक विकेट लिए ।
यो जितसँगै आरसीबी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। उसले चार खेलमा सबैमा जित हासिल गरेको छ ।
राजस्थानले भने चार खेलबाट एक खेलमा मात्र जित हासिल गरेको छ ।
विराट कोहलीको कीर्तिमान
आरसीबीका कप्तान विराट कोहलीलले आईपीएलमा ६ हजार रन पूरा गरेका छन्।
यो सँगै विराट कोहली आईपीएलमा ६ हजार रन पूरा गर्ने पहिलो ब्याट्सम्यान बनेका छन्। विराटपछि आईपीएलमा सर्वाधिक रन बनाउने सूचीको दोस्रो स्थानमा सुरेश रैना छन्।
उनले हालसम्म १९७ म्याचमा ३९ अर्धशतक र एक शतकको साथ ५ हजार ४ सय ४८ रन बनाएका छन् ।
आईपीएलमा सर्वाधिक रन बनाउने क्रममा शिखर धवन तेस्रो र डेविड वार्नर चौथो स्थानमा छन्। शिखरले हालसम्म ५ हजार ४ सय २८ र वार्नरले ५ हजार ३ सय ८४ रन बनाएका छन् ।
- पाँचौं- रोहित शर्मा-५ हजार ३ सय ६८ रन
- छैठौं- एबी डिभिलियर्स - ४ हजार ९ सय ७४ रन
- सातौँ- क्रिस गेल- १३५ इनिङ्समा ४ हजार ८ सय ४८ रन
- आठौं- महेन्द्रसिंह धोनी -४ हजार ६ सय ६७ रन
- नवौं- रोबिन उथप्पा-४ हजार ६ सय ७ रन
- दशौं- गौतम गम्भीर - ४ हजार २ सय १७ रन