आइपिएलमा चेन्नई सुपरकिंग्सका मध्यक्रमका ब्याट्सम्यान रविन्द्र जडेजा चम्किएपछि चेन्नईले एकै ओभरमा ३७ रन प्रहार गरेको छ।
आइतबार रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्धको खेलमा जडेजाको उत्कृष्ट ब्याटिङमा चेन्नईले अन्तिम ओभरमा ३७ रन प्रहार गरेको हो। अन्तिम ओभरमा बेंग्लोरका हर्षल पटेलले बलिङ गरेका थिए।
अन्तिम ओभरअघि तीन विकेट लिएका हर्षलको पहिलो दुई बलमा जडेजाले लगातार छक्का हानेका थिए। त्यसपछि नो बल भएको थियो। सो बलमा पनि जडेजाले छक्का हिर्काएपछि ७ रन प्राप्त भएको थियो।
तेस्रो बलमा फेरी छक्का हिर्काएका जडेजाले चौथो बलमा २ रन लिए। उनले पाँचौ बलमा छक्का र छैटौं बलमा चौका प्रहार गर्दै एकै ओभरमा ३७ रन प्रहार गरे।
खेलमा जडेजाले २८ बलमा नटआउट ६२ रन जोडे। उनले ४ चौका र ५ छक्का हिर्काए। उनको उत्कृष्ट ब्याटिङमा चेन्नईले ४ विकेटको क्षतिमा १९१ रन जोड्यो।
एकै ओभरमा ३७ रन प्रहार गर्दै चेन्नईले क्रिस गेलको ब्याटिङमा बेंग्लोरले बनाएको कीर्तिमान बराबरी गर्यो। गेलले सन् २०११ मा बेंग्लोरबाट खेल्दै कोची टस्कर्सविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका थिए।