भारतीय क्रिकेटर रविचन्द्रन आश्विनले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) नखेल्ने घोषणा गरेका छन्।
यस वर्ष दिल्ली क्यापिटल्सबाट खेलिरहेका स्पिनर आश्विनले भारतमा जारी १४औँ सिजनको आईपीएलका बाँकी म्याच नखेल्ने भएका छन् ।
परिवार कोरोना भाइरस (कोभिड-१९) सँग जुधिरहेकाले उनले आईपीएलका बाँकी म्याच नखेल्ने भएका हुन्। आश्विनले संकटको अवस्थामा परिवारलाई सहयोगका लागि आफूले आईपीएल २०२१ का बाँकी म्याच नखेल्ने निर्णय गरेको बताए ।
‘म यो वर्षको आईपीएलबाट विश्राम लिएको छु । मेरो परिवार कोभिड-१९ सँग लडिरहेको छ,’ आश्विनले ट्विट गरेका छन्, ‘यो कठिन समयमा म परिवारलाई सहयोग गर्न चाहन्छु । अवस्था राम्रो भएमा म फेरि पनि म्याच खेल्नका लागि टिममा फर्किने छु । दिल्ली क्यापिटल्सलाई म धन्यवाद दिन चाहन्छु।’
आश्विनले जारी आईपीएलमा पाँचमा ७.७३ को इकोनमीमा १४७ रन दिएर एक विकेट मात्र हात पारेका थिए ।
गएराति सम्पन्न सनराइजर्स हैदराबादसँगको म्याच खेल्दै आश्विन घर फर्किएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
आइपिएलमा पाँचौ चरणको खेल सकिँदासम्म दिल्ली क्यापिटल ४ जितसहित ८ अंक जोडेर दोस्रो स्थानमा छ। समान अंक भए पनि चेन्नई राम्रो रनरेटसहित शीर्ष स्थानमा छ।
दिल्लीले आफ्नो छैटौँ म्याच २७ अप्रिलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध खेल्नेछ । दिल्लीले पाँच म्याच खेल्दा चारमा जित र एक खेलमा मात्र हारको सामना गरेको छ ।
दिल्ली गत सिजनको उपविजेता पनि हो । यो पटक पनि दिल्लीलाई उपाधि दाबेदार टिमको रूपमा हेरिएको छ ।
भारतमा कोरोनाभाइरसको महामारी तिब्र रुपमा फैलिएको अवस्थामा आईपीएल खेलाउनु ठीक नरहेको भन्दै आलोचना पनि हुन थालेको छ।
यसैबीच, रोयल च्यालेन्जर्स बैंगलोरबाट खेलिरहेका केन रिचर्डसन र एडम जाम्पाले पनि संक्रमणको कारण देखाउँदै चालु लिगमा सहभागिता नजनाउने भन्दै स्वदेश फर्किएका छन्।