दिल्ली क्यापिटल्सका स्पिनर रविचन्द्रन आस्विनले आइपिएल छाडेका छन्।
कोरोना भाइरस महामारीको अवस्थामा परिवारलाई साथ दिने भन्दै आस्विनले आइपिएल छाडेका हुन्। स्थिति सहज भए फेरि आइपिएल खेल्न फर्कन सक्ने उनले बताएका छन्।
यसअघि राजस्थान रोयल्सका तीव्र गतिका बलर एंड्रयु टेले पनि व्यक्तिगत कारणले आइपिएल बीचमै त्यागेर अस्ट्रेलिया फर्कने घोषणा गरेका थिए।
गत साता राजस्थानकै लियाम लिभिङस्टोन आइपिएल छाड्दै इंग्ल्यान्ड फर्किएका थिए।
यता रोयल च्यालेन्जर्स बेंग्लोरका दुई अस्ट्रेलियन खेलाडीले पनि व्यक्तिगत कारण देखाउँदै घर फर्कने बताएका छन्।
केन रिचार्डसन र एडम जाम्पाले टिम छाड्दै अस्ट्रेलिया फर्कन लागेको बेंल्लोरले बताएको छ।
भारतमा जारी आइपिएलमा अहिले दर्शकबिनाको रंगशालामा खेल भइरहेका छन्। पाँचौ चरणको खेल सकिदा चेन्नई सुपरकिंग्स ८ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको दिल्ली र तेस्रो स्थानको बेंग्लोर पनि समान ८-८ अंक छ।
भारतमा आइतबार अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्। सोमबार बिहान सार्वजनिक तथ्यांकअनुसार आइतबार भारतभर ३ लाख ५२ हजार ९ सय ९१ जना मानिसमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो।
भारतमा अप्रिल २२ मा पहिलो पटक दैनिक संक्रमितको संख्या तीन लाख नाघेको थियो। त्यसपछि लगातार दैनिक तीन लाखभन्दा बढी संक्रमित थपिइरहेका छन्।
आइतबारमात्रै भारतमा २ हजार ८ सय १२ जना संक्रमितले ज्यान गुमाएका छन्।
संक्रमितको 'सुनामी' आएसँगै भारतीय स्वास्थ्य प्रणालीमा गम्भीर समस्या भएको छ। कति अस्पतालमा बिरामीले बेड पाएका छैनन् भने कति ठाउँमा अक्सिजनको हाहाकार भइरहेको छ।