आइपिएलमा रोयल च्यालेन्जर्स बैंग्लोर ले दिल्ली क्यापिटल्समाथि १ रनको रोमाञ्चक जित हात पारेको छ।
सिजनमा बैंग्लोरको यो पाँचौ जित हो। उसले ६ खेल खेल्दा एक खेलमा मात्र हारको सामना गरेको छ ।
मंगलबार बैंग्लोरले दिएको १७२ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७० रन मात्र बनायो ।
उसका लागि कप्तान ऋषभ पन्तले अविजित ५८, शिमरोन हेटमायरले नटआउट ५३, मार्कस स्टोइनिसले २२ र पृथ्वी शाले २१ रन बनाए पनि हार टार्न सकेनन्।
बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङमा बैंग्लोरका हर्षल पटेलले २ विकेट लिए। कायल जेमिसन र मोहम्मद सिराजले १-१ विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७१ रन बनायो।
उसका लागि एबी डिभिलियर्सले ४२ बलमा पाँच छक्का र तीन चौकासहित नटआउट ७५ रन बनाए ।
योसँगै डिभिलियर्सले कम बल खेल्दै आईपीएल इतिहासमा सर्वाधिक छिटो पाँच हजार रन पूरा गर्ने ब्याट्सम्यानको कीर्तिमान पनि बनाए।
त्यस्तै, रजद पाटिदारले ३१, ग्लेन म्याक्सवेलले २५, देवदत्त पाडिक्कले १७ र विराट कोहलीले १२ रनको योगदान दिए ।
बलिङमा दिल्लीका लागि अक्षर पटेल, अमित मिश्रा, इशान्त शर्मा, आवेश खान र कागिसो रबाडाले एक/एक विकेट लिए ।
जिसँगै बैंग्लोर शीर्ष स्थानमा उक्लिएको छ। दिल्ली भने तेस्रो स्थानमा झरेको छ।