भारतमा जारी १४औं संस्करणको आईपीएलमा सनराइजर्स हैदराबादलाई हराउँदै चेन्नई सुपरकिंग्स शीर्ष स्थानमा उक्लिएको छ।
हैदराबादले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नईले १८.३ ओभरमा तीन विकेट गुमाएर भेट्टायो।
उसका लागि ऋतुराज गायकवाडले उत्कृष्ट ब्याटिङ गरे। ४४ बल खेलेका उनले १२ चौकासहित ७५ रन बनाए।
अर्का ओपनर फाप डु प्लेसिसले ३८ बलमा एक छक्का र ६ चौकाको मद्दतमा ५६ रन बनाउँदा मोइन अलीले १५, सुरेश रैनाले १७ र रवीन्द्र जडेजाले अविजित सात रनको योगदान दिए।
बलिङमा हैदरावादका राशिद खानले तीन ओभरमा ३६ रन दिएर तीन विकेट लिए पनि बाँकी बलरले विकेट लिन सकेनन्।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो। उसका लागि कप्तान डेविड वार्नर र मनिष पाण्डेले अर्धशतकीय पारी खेलेका थिए।
वार्नरले ५५ बलमा दुई छक्का र तीन चौकासहित ५७ र पाण्डेले ४६ बलमा पाँच चौका र एक छक्काको मद्दतमा ६१ रन बनाए ।
केन विलियम्सनले आक्रामक ब्याटिङ गर्दै १० बलमा चार चौका र एक छक्कासहित अविजित २६ रन बनाए।
केदार जाधव १२ रनमा अविजित रहँदा जोनी बेयरिस्टो भने सात रनमै आउट भए।
बलिङमा चेन्नईका लागि लुंगि एनगिडीले दुई र साम करनले एक विकेट लिए।
जितसँगै चेन्नई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। उसले ६ खेलमा पाँचमा जित र एक खेलमा हारको सामना गरेको छ ।
हैदराबादले भने ६ म्याचमध्ये एक खेलमा मात्र जित हासिल गरेको छ। डेविड वार्नर नेतृत्वको हैदराबाद २२ म्याच सकिँदा पुछारमा छ ।