आइपिएलमा मुम्बई इन्डियन्सले तेस्रो जित हात पारेको छ। बिहीबार दिल्लीमा भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्यो।
राजस्थानले दिएको १७२ रनको लक्ष्य मुम्बईले ३ विकेटको क्षतिमा १८.३ ओभरमा पूरा गर्यो।
मुम्बईका लागि ओपनिङ ब्याट्सम्यान क्वान्टन डे ककले नटआउट ७० रन जोडे। उनले ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे।
ओपनर तथा कप्तान रोहित शर्मा १४ रनमा आउट हुँदा सूर्यकुमार यादवले १६ रन मात्र जोड्न सके। क्रुनाल पाण्ड्याले २६ बलमा ३९ रन जोडे भने केइरन पोलार्डले ८ बलमा नटआउट १६ रन जोडे।
बलिङमा राजस्थानका क्रिस मोरिसले २ विकेट लिए।
पहिले ब्याटिङ गरेको राजस्थानले ४ विकेटको क्षतिमा १७१ रन जोड्यो। उसका लागि जोस बटलरले ४१ रन र कप्तान सन्जु सामसनले ४२ रनको योगदान दिए।
बलिङमा मुम्बईका राहुल चाहरले २ विकेट लिए।
मुम्बई अंक तालिकामा ६ खेलमा ३ जित निकाल्दै ६ अंक जोडेर चौथो स्थानमा छ। राजस्थान भने ४ अंकसहित सातौं स्थानमा छ। उसले ६ मध्ये ४ खेलमा हार बेहोरिसकेको छ।