यो वर्षको अन्त्यमा हुने तय आइसिसी टी-२० विश्वकप प्रतियोगिता भारतबाट सर्न सक्ने भएको छ।
भारतमा कोरोना भाइरसको दोस्रो लहरका कारण विश्वकप सर्न सक्ने भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) का अधिकारीले बताएका हुन्।
विश्वकप आगामी अक्टोबरमा भारतमा हुने तय छ। भारतमा अहिले कोरोनाको महामारी बढिरहेको छ। त्यसको असर कति लामो समयसम्म पर्ने यकिन छैन।
यो साता दैनीक ३ लाख बढी संक्रमित भइरहेका छन् भने दैनीक तीन हजार माथिको मृत्यु भइरहेको छ।
भारतमा कोरोना संक्रमण बढिरहँदा विश्वकपमा विभिन्न देशले भारतमा जाने उडान र भारतबाट आउने उडान प्रतिबन्ध लगाइसकेका छन्।
बिसिसिआईका खेल विकास विभागका जिएम धिरज मल्होत्राले भारतमा विश्वकप आयोजना हुने झिनो आसा बाँकी रहेको बताए।
उनले भारतमा स्थिति सहज नभए युएईमा विश्वकप आयोजना गर्न सकिने बताएका छन्।
गत वर्ष अस्ट्रेलियामा तय भएको टी-२० विश्वकप पनि कोरोनाका कारण स्थगित भएको थियो। जुन विश्वकप भारतलाई आयोजना गर्न दिने निर्णय भएको थियो।
अस्ट्रेलियाले भने सन् २०२२ को टी-२० विश्वकप आयोजना गर्दैछ।
अहिले भारतमा आइपिएल भइरहेको अवस्थामा टी-२० विश्वकप पनि आयोजना हुन सक्ने कतिपय बिसिसिआईका अधिकारीको दाबी छ।
तर आइपिएल त्रासमुक्त भने छैन। किनभने कतिपय विदेशी खेलाडीले कोरोनाका कारण आइपिएल बीचैमा त्यागेका छन्।