अस्ट्रेलियामा बस्दै आएका नेपाली क्रिकेटर सुनम गौतम ब्रिसबेन प्रिमियर लिगका लागि छनोट भएका छन्।
बिहीबार भएको अक्सनमार्फत सुनमलाई बेसाइड पाइरेट्सले आबद्ध गरेको हो। उनी ५० हजार अस्ट्रेलियन डलर (४६ लाख* रूपैयाँ) मा टिममा आबद्ध भएका हुन्।
लिगको पहिलो संस्करण आगामी अगस्टमा हुने बताइएको छ।
लिगमा अलराउन्डर गौतम आबद्ध पाइरेट्ससँगै ८ टिम सहभागी हुँदैछन्। जसमा बेसाइड पाइरेट्स, कोस्टल मार्लिन्स, डार्लिङ डिन्गोज, गोलकोस्ट वेभराइडर्स, मोरेटोन म्याजिक, नर्दन किंग्स, साउदर्न रकेट्स र वेस्टर्न पावर रहेका छन्।
नेपालको उमेर समूहका प्रतियोगिता खेलिसकेका अलराउन्डर गौतम अस्ट्रेलियाको घरेलु क्रिकेट खेल्ने गर्छन्। उनी सन् २०१९ मा क्रिकेट भिक्टोरियाको 'टिम अफ दि सिजन' मा पर्न सफल भएका थिए। उनले सो सिजन ग्रिनभेल कंगारूज क्लबबाट खेलेका थिए।
सिजन २०१८-१९ मा उनले क्लबका लागि एक शतकसहित जम्मा ६४४ रन बनाएका थिए भने ३८ विकेट हात पारेका थिए।
उनी सन् २०१२ अस्ट्रेलिया पुगेका थिए। त्यसपछि पढाइका साथै उनले अस्ट्रेलियाको घरेलु क्रिकेट खेल्न थालेका थिए।
अस्ट्रेलिया जानुअघि उनले सन् २००५ मा नेपालको यु-१७ र सन् २००७ मा नेपालको यु-१९ टिमबाट खेलेका थिए।
अस्ट्रेलिया पुगे पनि उनी नेपालको घरेलु क्रिकेट खेल्न फर्कने गरेका छन्। उनले केहि वर्षअघि एभरेस्ट प्रिमियर लिग खेलेका थिए।
*यसअघि भूलवस अन्यथा भएकाले सच्याइएको