नेपाल क्रिकेट संघ (क्यान) ले अनिश्चितकालका लागि क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको छ।
कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि क्यानले क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको हो।
कोभिड-१९ को वर्तमान अवस्थामा सुधार नआएसम्म र क्यानबाट अर्को सूचना जारी नभएसम्म संघबाट प्रस्ताव राष्ट्रिय प्रतियोगिता स्थगित गरेको क्यानले शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ।
यस्तै जिल्ला छनोट एवम् प्रादेशिक प्रतियोगिता पनि स्थगित भएका छन्।
यसैगरी विभिन्न राष्ट्रसँग हुने भनिएको द्विपक्षीय एवम् त्रिपक्षीय सिरिज तत्काललाई स्थगित गरेको क्यानको भनाइ छ।
यसअघि नै सरकारले समूहमा खेलिने खेलहरू सञ्चालनमा रोक लगाएको थियो। क्यानले गत साता त्रिकोणात्मक टी-२० सिरिज आयोजना गरेको थियो। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको सिरिजको सुरुवाती खेलमा दर्शकलाई प्रवेश दिइए पनि पछि निषेध गरिएको थियो।
यता क्यानले आइसिसीको प्रावधानअनुसार नेपालमा आयोजना हुने क्रिकेट प्रतियोगिताहरूको कार्यविधि निर्माण गर्न लागेको जनाएको छ।
कार्यविधि निर्माण भइ लागू नभएसम्म अन्य क्लब, एकेडेमी र संस्थाले आयोजना गर्ने क्रिकेट प्रतियोगितामा जिल्ला एवम् प्रादेशिक क्रिकेट संघले स्वामित्व र आबद्धता नजनाउन क्यानले अनुरोध गरेको छ।