आइपिएल क्रिकेटमा शनिबार राति भएको रोमाञ्चक खेलमा चेन्नई सुपरकिंग्समाथि मुम्बई इन्डियन्समाथि ४ विकेटको जित हात पार्यो।
पहिले ब्याटिङ गरेको चेन्नईले ४ विकेटको क्षतिमा २१८ रन जोडेको थियो। उसका लागि फाप डु प्लेसिसले २८ बलमा ५० रन, मोइन अलीले ३६ बलमा ५८ रन र अम्बाती रायदुले २७ बलमा नटआउट ७२ रन जोडेका थिए।
२१९ रनको लक्ष्य मुम्बईले ६ विकेटको क्षतिमा अन्तिम बलमा पूरा गर्यो। मुम्बईका लागि केइरन पोलार्डले ३४ बलमा नटआउट ८७ रन जोडे। उनले ६ चौका र ८ छक्का हिर्काए। त्यसअघि क्वान्टन डे ककले २८ बलमा ३८ रन र रोहित शर्माले २४ बलमा ३५ रन हिर्काए।
जितसँगै मुम्बईले बनाएका ६ रेकर्ड यस्ता छन् :-
मुम्बईले अन्तिम १० ओभरमा १३८ रन बनायो। आइपिएलमा लक्ष्य पछ्याउने क्रममा अन्तमि १० ओभरमा प्रहार गरेको यो अहिलेसम्मकै धेरै रन हो। मुम्बईले आफूले बनाएको १३३ रनको रेकर्ड भंग गरेको हो। सन् २०१९ मा मुम्बईले पञ्जाबविरुद्ध लक्ष्य पछ्याउने क्रममा अन्तिम १० ओभरमा १३३ रन प्रहार गरेको थियो।
मुम्बईले चेन्नईविरुद्ध पार गरेको २१९ रनको लक्ष्य आइपिएलमा पूरा भएको दोस्रो ठूलो लक्ष्य हो। आइपिएलमा ठूलो लक्ष्य पार गर्ने रेकर्ड राजस्थान रोयल्सले पञ्जाबविरुद्ध २०२० मा पार गरेको २२४ रनको लक्ष्य हो।
मुम्बईका केइरन पोलार्डले चेन्नईविरुद्ध १७ बलमा प्रहार गरेको अर्धशतक आइपिएलको छिटो अर्धशतक हो। यसअघि पोलार्डले नै सन् २०१६ र इशान किसनले २०१८ र हार्दिक पाण्ड्याले २०१९ मा १७ बलमा अर्धशतक प्रहार गरेका थिए। सबैले कोलकताविरुद्ध अर्धशतक हिर्काएका थिए।
खेलमा चेन्नईले १६ छक्का हिर्कायो। कुनै पनि टिमले मुम्बईविरुद्ध हानेको यो सर्वाधिक छक्का हो। यसअघि कोलकताले २०१९ मा मुम्बईविरुद्ध १५ छक्का हिर्काएको थियो। खेलमा मुम्बईले चेन्नईविरुद्ध १४ छक्का हिर्कायो। यो पनि चेन्नईविरुद्ध प्रहार भएको अहिलेसम्मकै बढी छक्का हो।
खेलमा चेन्नईका बलर लुङ्गी एनगिडीले ६२ रन खर्चिए। चेन्नईका बलरले आइपिएलमा खर्चिएको यो सर्वाधिक रन हो।
खेलमा मुम्बईका बलर जसप्रित बुमराहले ५६ रन खर्चिए। बुमराहले टी-२० मा खर्चिएको यो अहिलेसम्मकै सर्वाधिक रन हो।