आइपिएल २०२१ का लागि सनराइजर्स हैदरावादले अस्ट्रेलियन ओपनर डेभिड वार्नरलाई कप्तानी सुम्पेको थियो। अपेक्षा अनुरुप हैदरावादलाई वार्नरले कुशल कप्तानी दिन सकेनन्। सुरुवाती ६ खेल मध्ये हैदरावाद ५ खेलमा पराजित भयो।
अंक तालिकाको पुछारमा रहेपछि हैदरावादले आइतबार वार्नरलाई कप्तानीबाट हटाएर न्युजिल्यान्डका केन विलियनसनलाई जिम्मेवारी दियो।
सोमबार राजस्थानविरुद्धको खेलमा उनी टिममा परेनन्। हैदरावादले चार जना विदेशी खेलाडीको कोटामा जोनी बेयरस्टो, विलियमसन, रासिद खान र मोहमद नाबीलाई खेलायो।
विलियनसनले यसअघि पनि हैदरावादको कप्तानी गरिसकेका थिए। उनले २०१८ र २०१९ को सिजनमा हैदरावादको कप्तानी गरेका थिए। उनको कप्तानीमा हैदरावादले कुल २६ खेलमा खेलेको छ। जसमा १४ खेलमा जित निकालेको छ। ११ खेल हार्दा १ खेल बराबरीमा सकिएको थियो।
वार्नरले यसअघि दिल्ली क्यापिटल्सविरुद्धको खेलमा मनीष पाण्डेलाई हटाएर विराट सिंहलाई खेलाएका थिए। जसका कारण टिम व्यवस्थापनसँग मतभेद बढेको थियो।
जारी आइपिएलमा वार्नरले ६ खेलमा १९३ रन प्रहार गरे। जसमा दुई अर्धशतक सामेल छन्। उनी सिजनमा हैदरावादका लागि बढी रन हान्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्। शीर्ष स्थानमा रहेका बेयरस्टोले २१८ रन प्रहार गरेका छन्।