भारतको पश्चिम बंगाल विधान सभाको चुनावमा दुई जना पूर्वक्रिकेटरले उम्मेदवारी दिएका थिए।
भारतीय टिमबाट खेलिसकेका तीव्र गतिका बलर अशोक डिंडाले भारतीय जनता पार्टी (भाजपा) बाट टिकट पाएका थिए भने ब्याट्सम्यान मनोज तिवारी तृणमूल कंग्रेसबाट चुनावी मैदानमा थिए।
डिंडा मोयनाबाट विधान सभाको चुनावी मैदानमा उत्रिएका थिए। मोयनाबाट डिंगासहित ७ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। तर डिंडा पराजित भए।
डिंडालाई तृणमूल कंग्रेसका संग्रामकुमार डोलईले हराए। डिंडाले कुल ५४ हजार ८ सय ३७ भोट प्राप्त गर्दा संग्रामले ६४ हजार १ सय ३१ भोट प्राप्त गरे।
डिंडाले २०२१ फेब्रुअरीमा सबैखाले क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए। त्यसपछि उनी भारतीय जनता पार्टीमा प्रवेश गरेका छन्।
सन् २०१० मा भारतीय राष्ट्रिय टिममा डेब्यू गरेका उनले भारतीय टिमबाट १३ एकदिवसीय र ९ टी-२० खेल खेलेका थिए। उनले पुने वारियर्स, दिल्ली डेयरडेभिल्स, कोलकता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोरबाट आइपिएल खेलेका थिए।
अर्का पूर्वक्रिकेटर मनोज तिवारीले भने जित हात पारेका छन्। ममता बेनर्जीको तृणमूल कंग्रेस पार्टीबाट उनी हवाडा शिवपुर विधान सभा सिटका लागि उम्मेदवार बनेका थिए।
उनले भजपा उम्मेदवार रतिचन्द्रनाथ चक्रवर्तीलाई ३२ हजार ३३९ मतले पछि पार्दै जित हात पारेका छन्।
तिवारीले सन् २००८ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। उनले भारतबाट १२ एकदिवसीय र ३ टी-२० खेल खेलका थिए।
उनले कोलकता, पुने, दिल्ली र पञ्जाबबाट आइपिएल खेलेका थिए।