अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० विश्व वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ।
आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १३औँ स्थानमा उक्लिएको हो।
यसअघि नेपाल १४औँ स्थानमा रहेको थियो। घरेलु मैदानमा यही वैशाखमा सम्पन्न त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको नेपालले वरीयता सुधार गरेको हो।
टी-२० वरीयतामा नेपालभन्दा तल १४औं स्थानमा स्कटल्यान्ड र १५औं स्थानमा युएई छन्।
नेपालभन्दा माथि रहेका आयरल्यान्ड १२औं र जिम्बावे ११औं स्थानमा छन्।
टी–२० को नयाँ वरीयताको पहिलो स्थानमा इङ्ग्ल्यान्ड छ भने दोस्रोमा भारत तथा तेस्रो स्थानमा न्युजिल्यान्ड छ। त्यसैगरी चौथो स्थानमा पाकिस्तान छ भने पाँचौँ स्थानमा अष्ट्रेलिया छ।
यस्तै नेपालले एकदिवसीय वरीयतामा समेत सुधार गरेको छ। एकदिवसीय वरीयतामा नेपाल १६औँ स्थानमा छ। यसअघि नेपाल १७औँ स्थानमा रहेको थियो।
एकदिवसीय वरीयतामा नेपालभन्दा माथि स्कटल्यान्ड १५औं स्थान र ओमान १४औं स्थानमा छन्।
नेपालभन्दा तल रहेका युएई १७औं, नामिबिया १८औं, अमेरिका १९औं र पपुवा न्युगिनी २०औं स्थानमा छन्।
एकदिवसीयको नयाँ वरीयतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो तथा भारत तेस्रो स्थानमा छन्।