नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेभ वाटमोर श्रीलंका प्रस्थान गरेका छन्। नेपालमा क्रिकेट गतिविधि ठप्प भएपछि परिवारसँग समय बिताउन उनी मंगलबार श्रीलंका प्रस्थान गरेका हुन्।
वाटमोरले इन्स्टाग्राममा परिवारलाई भेट्न जान लागेको बताएका छन्।
गत जनावरीदेखि नेपाली राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त भएका वाटमोर गत माघमा नेपाल आएका थिए।
उनी आउदा नेपालमा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता चलिरहेको थियो। प्रतियोगिताका खेले हेरेपछि उनले नेपाली राष्ट्रिय टिमको प्रशिक्षण सुरू गरेका थिए।
वाटमोरको प्रशिक्षणमा नेपालले गत साता मलेसिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक टी-२० सिरिज खेलेको थियो। नेपालले फाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै उपाधि जितेको थियो।
त्यसलगत्तै नेपाल क्रिकेट संघ (क्यान) ले कोरोनाका कारण सबै क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको थियो।
आगामी जुलाईमा नेपाल, स्कटल्यान्ड र नामिबियाबीच आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज स्कटल्यान्डमा हुने तय छ। तर कोरोनाका कारण उक्त सिरिज अझै पक्का भने भइसकेको छैन।