इन्डियन प्रिमियर लिग(आइपिएल) स्थगित भएपछि भारतमा अड्किएका अष्ट्रेलियन क्रिकेट खेलाडी मालदिभ्स गएका छन्।
क्रिकेट अष्ट्रेलिया र अष्ट्रेलियन क्रिकेटर्स एसोसिएशनले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै भारतमा अड्किएका अष्ट्रेलियन खेलाडी, प्रशिक्षक, म्याच अधिकारी, कमेन्टेटर्स माल्दिभ्सका लागि हिँडेको जनाएको छ।
अष्ट्रेलियाली सरकारले भारतबाट जाने उडानलाई अनुमति नदिएसम्म उनीहरू माल्दिभ्समै रहने विज्ञप्तिमा उल्लेख गरिएको छ। भारतमा बढिरहेको कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर अष्ट्रेलियाले भारतबाट जाने उडानमा १५ मे सम्मका लागि प्रतिबन्ध लगाएको छ। भारतबाट कोही फर्किए उनीहरूलाई पाँच वर्ष जेल हाल्ने निर्णय गरिएको छ।
दुबै संस्थाले अष्ट्रेलियन सरकारबाट कुनै पनि खालको छुटको माग नगरेको जनाएका छन्।
भारतमा कोरोना भाइरसको संक्रमण बढेपछि बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया(बिसिसिआइ)ले आइपिएल रोक्ने निर्णय गरेको थियो।
'उनीहरू सबै ठिकै हुन्छन्। उनीहरूको हेरचाह गरिएको छ र सबै जना घर पुग्छन्,' बिसिसिआईका प्रमुख सौरभ गांगुलीले इन्डियन एक्सप्रेससँग भने,अष्ट्रेलियन साथीहरू भोलि माल्दिभ्स पुग्छन्, क्वारेन्टिनको समय सकाउँछन् अनि अष्ट्रेलिया सुरक्षित साथ पुग्छन्। त्यसैले म केही समस्या देख्दिनँ।'
चेन्नई सुपर किंग्सका ब्याटिङ कोच माइकल हसी भने भारतमै बस्नेछन्। कोरोना संक्रमण भएको कारण उनी निको भएपछि अनुकूल समयमा अष्ट्रेलिया फर्काइने जनाएको छ।