नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले आगामी नोभेम्बरमा टी-२० विश्वकप एसिया छनोट खेल्ने भएको छ।
छनोट प्रतियोगिता आगामी नोभेम्बर २२ देखि २८ सम्म मलेसियामा हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले शुक्रबार सार्वजनिक गरेको हो।
छनोट प्रतियोगितामा नेपालसहित भुटान, चीन, हङकङ, कुवेत, म्यानमार र आयोजक मलेसियाले प्रतिस्पर्धा गर्नेछन्।
एसिया छनोट प्रतियोगिताबाट शीर्ष एक टिम विश्व छनोटमा पुग्नेछ।
२०२२ मा हुने विश्व छनोटमा क्षेत्रीय छनोटबाट आउने पाँच टिम र महिला वरीयताको शीर्ष दशमा पर्न नसकेका दुई टिम गरी सात टिमबीच प्रतिस्पर्धा हुनेछ।
सात टिमबाट दुई टिम महिला टी-२० विश्वकप २०२३ मा पुग्नेछन्।
महिला वरीयताका सात र आयोजक दक्षिण अफ्रिका विश्वकपमा पुगिसकेका छन्।
यसरी सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी-२० विश्वकपमा १० टिमबीच प्रतिस्पर्धा हुनेछ।