पाकिस्तानका बाबर अजामले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) 'प्लेयर अफ दि मन्थ' को अवार्ड जितेका छन्।
बाबरले आफ्नै देशका फखर जमान र नेपालका कुशल भुर्तेललाई पछि पार्दै अवार्ड जितेका हुन्।
अवार्ड आइसिसीको वेभ पोर्टलमा आएको समर्थकको भोट र आइसिसी भोटिङ एकेडेमीको आधारमा घोषित गरिएको हो।
आइसिसी भोटिङ एकेडेमीमा आइसिसीका १२ वटा स्थायी सदस्यका २-२ प्रतिनिधि र २ जना अन्य प्रतिनिधि गरी २६ जना रहेका छन्।
यसअघि आइसिसीले अप्रिल महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा नेपालका कुशलसँगै पाकिस्तानका बाबर र फखरको नाम सार्वजनिक गरेको थियो।
फखरले गत महिना तीन एकदिवसीय खेल खेल्दा २ शतकसहित ३०२ रन प्रहार गरेका थिए। यस्तै बाबरले एकदिवसीय खेलमा २२८ रन र टी-२० मा ३०५ रन प्रहार गरेका थिए।
कुशलले अप्रिलमा घरेलु मैदानमा भएको त्रिकोणात्मक टी-२० सिरिजमार्फत टी-२० मा डेब्यू गरेका थिए।
नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीचको सिरिजमा उनले पाँच खेलमा चार अर्धशकत प्रहार गरेका थिए। उनले पाँच खेलमा २७८ रन प्रहार गरेका थिए।