श्रीलंकाविरुद्धको पहिलो एकदिवसीय खेलमा घरेलु टिम बंगलादेशले जित निकालेको छ। आइतबार ढाकामा भएको पहिलो खेलमा बंगलादेशले ३३ रनले श्रीलंकालाई हराएको हो।
पहिले ब्याटिङ गरेको बंगलादेशले ६ विकेटको क्षतिमा २५७ रन जोड्यो।
उसका लागि मुस्फिकर रहिमले ८४ रन जोडे। उनले ८७ बलमा ४ चौका र १ छक्का हिर्काए।
त्यसअघि कप्तान तथा ओपनर तमिम एकबालले ५२ रनको योगदान दिए। मुहमुदुल्लाहको ५४ रन पनि बंगलादेशका लागि महत्वपूर्ण सावित भयो।
बलिङमा श्रीलंकाका धनन्जय डी सिल्भाले ३ विकेट लिए।
२५८ रनको लक्ष्य पछ्याएको श्रीलंका ४८.१ ओभरमा २२४ रनमै अलआउट भयो। श्रीलंकाका लागि विनन्दु हसरंगाले ७४ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।
बलिङमा बंगलादेशका मेहदी हसन मिराजले ४ विकेट लिए भने मुस्ताफिजुर रहमानले ३ विकेट हात पारे। मोहमद सैफुद्दिनको नाममा २ विकेट रह्यो।
तीन खेलको सिरिजको दोस्रो खेल मंगलबार हुनेछ।